१७ कार्तिक २०८३, मंगलबार

अनैतिक सम्बन्ध खुल्ने डरले शिक्षिकाको हत्या प्रकरण:

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo 2
हत्या गरिएकी शिक्षिका यशोदा शाही ।

– दीपक ओली
रत्तिपुर (कैलाली), ३० जेठ । शिक्षिकाको हत्या र प्रधानाध्यापक पक्राउ परेपछि रामशिखरझाला गाविस–१, रत्तिपुरमा रहेको शान्ति निम्न माद्यामिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

सो विद्यालयकी शिक्षिका यशोदा शाहीको यहि जेठ ११ गते अपहरणपछि हत्या भएको थियो । हत्यामा सोहि विद्यालयका प्रधानाध्यापक डम्मर शाहको पनि संलग्नता देखिएको भन्दै प्रहरीले डम्मरलाई पक्राउ गरेपछि दुई सातादेखि विद्यालयको दैनिक पठपाठन प्रभावित हुँदै आएको विद्यालयका निमित्त प्रधानाध्यापक नन्दराम बुढाले बताए ।

२०५८ सालमा स्थापित यो विद्यालयमा दुई सय बढी विद्यार्थी रहेका छन् । स्थापना भएको १४ वर्षसम्म यो विद्यालयमा शिक्षा कार्यालयले एकजना शिक्षकको पनि दरबन्दी दिएको छैन् । हाल चार जना राहतमा र छ जना निजी स्रोतबाट शिक्षक कार्यरत छन् ।

‘विद्यालयमा शिक्षक अभाव छँदैछ थियो । त्यसैमा दुई जना शिक्षक नहुँदा पठनपाठनमा झन् समस्या भएको छ,’ निमित्त प्रधानाध्यापक बुढाले भने, ‘पठनपाठन लथालिंग छ । भ्याएसम्म अरु शिक्षकले पनि खाली कक्षामा पढाउने गर्छौं ।’

मृतक यशोदाले दैनिक आठ र डम्मरले सात पिरियड पढाउन्थे । विद्यालयको आयस्रोत नहुँदा अहिले नयाँ शिक्षक राख्नसक्ने अवस्था नरहेको सो विद्यालयको व्यवस्थापन समितिले जनाएको छ ।

‘मेडम (यशोदा) ले सामाजिक विषय र सर (डम्मर) ले पेशा, ब्यवसाय प्रविधि शिक्षा पढाउनु हुन्थ्यो,’ ८ कक्षामा अध्यन गर्ने पवन चौधरीले भने, ‘आजभोलि दुई पिरियड पढाइनै हुँदैन् ।’ दुई पिरियड पढाई नहुने हुनाले आफूहरु सो समयमा खेलेर बस्ने गरेको पवनले बताए ।

photo 1
शान्ति निम्न माद्यामिक विद्यालय परिसरमा खेल्दै विद्यार्थीहरु ।

‘मृतक यशोदा निकै मेहनती र लगनशील हुनुहुन्थो । विद्यार्थीहरु पनि उहाँले पढाएको निकै मन पराउन्थे । तर, दुःखद घटना भयो । घटनापछि विद्यार्थीहरुमा समेत मनोवैज्ञानिक असर परेको शिक्षक भिखुराम चौधरीले बताए । तल्लो तहका विद्यार्थीहरुले शिक्षिका र शिक्षक अनुपस्थितबारे कहाँ जानु भएको छ भनेर सोध्ने गरेको उनले बताए ।
घरमा सुतिरहेकी यशोदालाई डम्मरकी छोरी कल्पनाले जेठ ११ गते करिब १० बजेतिर काम छ भनि फोन गरेर बोलाएपछि यशोदा सम्पर्कविहीन भएकी थिईन् । बेपत्ता यशोदा चार दिनपछि विद्यालय नजिकै रहेको तुल्सीपुर सामुदायिक वनमा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । घटनामा संलग्नको अभियोगमा प्रधानाध्यापक डम्मर, उनकी श्रीमति ज्ञानु र छोरी कल्पना सहित १२ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रधानाध्यापक डम्मर र मृतक यशोदाको अनैतिक हाडनाता सम्बन्ध रहेको र त्यही कारण उनको हत्या भएको पीडित पक्षको भनाई छ । प्रहरीले पनि अनुसन्धानका क्रममा अनैनिक सम्बन्धका कारण हत्या भएको खुलेको जनाएको छ । यद्यपी हत्यामा को को संलग्न थिए भन्नेबारे भने अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

घटनाको निश्पक्ष छानविन गर्न माग

यसैबीच हत्या गरिएकी शिक्षिका यशोदाका आफन्तले घटनाको निस्पक्ष छानविनको माग गरेका छन् । घटनाबारे बुझ्न स्थलगत भ्रमणमा गएको पत्रकारको टोलीसँग मृतकका आफन्तले दोषी उम्कने नपाउने गरि अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे ।

‘दोषी उम्कने गरि प्रहरीले अनुसन्धान गर्नुभएन,’ मृतकका जेठाजु तपेन्द्र शाहीले भने, ‘हत्यामा संलग्न र मतियारलाई आवश्यक सजाय दिलाउनका लागि प्रहरीले प्रमाण संकलनमा चाँसो दिनुपर्छ भन्ने हाम्रो आग्रह हो ।

शिक्षिका हत्या घटनाको अनुसन्धानको नेतृत्व गरिरहेका अनुसन्धान अधिकृत इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए । उनले अनुसन्धान कसैबाट प्रभावित नहुने भन्दै निस्पक्ष अनुसन्धानमा विश्वस्त हुन मृतकका आफन्तलाई आग्रह गरेका छन् ।

‘घटना हत्या नै हो । संलग्नसहित केही पक्राउ परेका छन् । पक्राउ परेकामध्ये र अरु कति जनाको संलग्नता छ भनेर अनुसन्धान गरिरहेका छौं,’ प्रहरी निरीक्षक मल्लले भने, ‘आवश्यक प्रमाण संकलनपछि अदालतमा मुद्दा दायर हुन्छ ।’