ओखलढुंगा, २९ जेठ । भूकम्पपछिको अवस्थाबारे जानकारी लिन ओखलढुंगा पुगेका राष्ट्रपति रामवरण यादव र नेकपा एमालेका सभासद् यज्ञराज सुनुवारबीच शुक्रबार चर्काचर्की भएको छ ।
ओखलढुंगा सदरमुकाममा आफ्ना कुरा राख्न खोज्दा राष्ट्रपतिले रोकेपछि एमाले केन्द्रीय सदस्य समेत रहेका सुनुवारसँग केहीबेर विवाद भएको हो । जिल्लाको अबस्थाका बारेमा ओखलढुंगाका राजनीतिक दलका नेताहरुले बोलेपछि काँग्रेसका नेता समेत रहेका बनमन्त्री महेश आचार्यले सरकारका तर्फबाट कुरा राखेका थिए ।

एमाले सभासद् सुनुवारले आफूले केही कुरा राख्न चाहेको बताएपछि राष्ट्रपतिले ‘तपाईँ किन बोल्ने ?’ भन्दै रोकेका थिए । त्यसलगत्तै सभासद् सुनुवार पनि रन्किए- ‘तपाई आउँदा छापामार शैलीमा आउनुभयो, अहिले म जनताको एउटा कुरा राख्छु भन्दा पनि सुन्न नखोज्ने ?’
केहीबेर चर्काचर्की भएपछि नमिठो मान्दै राष्ट्रपति बोल्न थाले । आफ्नो कार्यकालको सात बर्षे अवधिमा आफूलाई पहिलोपटक कुनै सभासद्को व्यवहारले दुःख लागेको राष्ट्रपतिले बताए ।
भूकम्पबाट भएको क्षति र त्यसपछि सरकारले गरेका कामको जानकारी लिन राष्ट्रपति यादव विभिन्न जिल्लामा पुग्ने गरेका छन् ।














प्रतिक्रिया