
काठमाडौं, २ फागुन । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रगतिको लागि विश्वविद्यालय सधैँ तत्पर रहेको बताउनुभएको छ ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको समुद्घाटन समारोहमा उहाँले भवन प्राप्त भएसँगै विभागलाई चुनौतीहरु पनि थपिएको भन्दै यसको स्तरोन्नतीको लागि सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘यो भवनप्राप्तभएसँगै विभागका साथीहरुलाई चुनौतीहरु पनि थपिएका छन्, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिविको महत्वपूर्ण विभाग हो यो क्षेत्रको । विश्वमा हुने नयाँ परिवर्तन, विकास, उपलब्धीहरुलाई समेटेर ती प्रवृत्तिलाई देशभित्र व्यवस्थित रूपले अनुसन्धानमा भित्र्याउने काम यो विभागको जिम्मेवारीमा छ । यो विभागको उन्नती गर्ने दिशामा सबैजना एक ध्यान भएर लाग्ने छौं, त्यसमा विश्वविद्यालयको तर्फबाट गर्नुपर्ने काममा सधैँ तत्पर नै रहन्छ ।’
यस्तै, उहाँले धेरै लामो संघर्षपछि विभागको छुट्टै भवनको निर्माण भएको भन्दै यसबाट अब सहजताको वातावरण निर्माण हुने धारणा व्यक्त गर्नुभयो ।
‘धेरै लामो संघर्षपछि यो पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको छुट्टै भवनको निर्माण भएको छ । प्राध्यापक, कक्षाकोठाको व्यवस्थापन जस्ता कुराहरुमा खुम्चिएर बस्नु पर्ने अवस्था हामी सबैले भोगेका थियौं । अहिले त्यो अवस्थाबाट केन्द्रीय विभागले एउटा आफ्नो विशिष्ट सुविधा सहितको भवन प्राप्त गरेको छ । यसबाट सहजताको वातावरण निमार्ण हुँदै जान्छ,’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया