काठमाडौ, २९ जेठ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रपति, मन्त्री र वरिष्ठ ओहोदाका ब्यक्तिहरु कोही पनि बोक्सी नहुने तर गरिबहरुमात्र किन बोक्सी हुने भनी प्रश्न गरेका छन ।
राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले शुक्रवार राजधानीमा आयोजना गरेको ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ शिर्षकको एल्बम विमोचन गर्दै उनले गरिबलाई अपहेलित गर्न र दबाउन चाहनेले बोक्सीको आरोप लगाएर दमन गर्ने गरेको बताए ।
मन्त्री पण्डितले प्रश्न गर्दै भने– राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद, उद्योगी ब्यवसायीलगायतका वरिष्ठ व्यक्तिहरु कहिल्यै बोक्सी भएको सुन्नु भएको छ ? केवल गरिब बस्तीमा यस्ता विकृतिहरु छन् । कसैप्रति रिस उठे दबाउन चाहनेले बोक्सी भनेर दमन गर्ने गर्छन ।
उनले सबैको सामूहिक प्रयास र कानूनद्धारा दण्डनीय बनाउन सके बोक्सी प्रथा अन्य हुने दावी गर्दै अहिले सामाजिक परिवर्तन भन्दा पनि क्षणिक लाभ र प्रचार चाहने कार्यले गर्दा समस्या उत्पन्न भएको बताए ।
बोक्सी प्रथा समाज परिवर्तनको मुख्य बाधक बनेको भन्दै कडा कानून बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।
महिला बालवालिका तथा समाज कल्याण सचिव धनबहादुर तामाङले बोक्सी र दाईजो प्रथा नेपालको मात्रै नभई दक्षिण एसियाकै समस्या भएको भन्दै यसले यस क्षेत्रको विकास र समानताको अभियानमा अवरोध उत्पन्न गरेको दावी गरे ।
सस्थाका अध्यक्ष कोविदशरण उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ एल्बममा समेटिएका गीतका संगीतकार वीवी अनुरागी, गीतको म्यूजिक भिडियोमा अभिनय गर्ने मोडलहरु नविन घायल, पुजा सेढाई, ज्ञानेश्वर सुवेदी र सलिना बस्नेतलाई सार्वजनिक अभिनन्दन गरिएको थियो ।
एल्बममा आठ वटा गीत समेटिएका छन । गीतहरु बिबी अनुरागीसँगै नवराज त्रिपाठी, नवराज बराल, बसन्त सापकोटा र तिलकबम मल्लले संगीत भरेका छन् भने अञ्ज पन्त, ज्ञानेश्वर सुवेदी, ज्योति लामिछाने, स्वरुपराज आचार्य, बसन्ती लामिछाने, प्रमोद खरेल, विष्णु डुम्रे र सिन्धु मल्लले स्वर दिएका छन् ।
















प्रतिक्रिया