
काठमाडौं, २१ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा गलत बोल्नेको शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
आज पार्टी संसदीय दलको बैठक समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने बताउनुहुँदै अध्यक्ष ओलीले गलत कुराको सख्त आलोचना र विरोध गर्न तर रेकर्डबाट हटाउन माग नगर्न आग्रह गर्नु भएको हो ।
गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको उहाँको भनाइ छ ।
संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वभाविक हुने भएपनि अरुले उसको गल्ती सच्याईदिने काम गरिरहन नपर्ने ओलीले स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, मेरो विचारमा रेकर्डबाट गल्ती बोल्नेका शब्दहरु हटाउन लगाउनु जरुरी छैन । त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ । विरोध गर्नुपर्छ त्यसको । तर रेकर्डबाट हटाइयोस् भन्न चाहिँ पर्दैन ।’











प्रतिक्रिया