६ कार्तिक २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय समुदायद्वारा १६ बुँदे सहमतिको स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UN..LOGO_काठमाडौँ, २७ जेठ । अन्तर्राष्ट्रिय समुदायले संविधानका अन्तर्वस्तुमा राजनीतिक दलहरूबीच भएको सहमतिको स्वागत गरेको छ ।

यहाँस्थित अन्तर्राष्ट्रिय समुदायका तर्फबाट नेपालका लागि संयुक्त राष्ट्रसङ्घका मानवीय समन्वयकर्ता जिमी म्याक गोल्डरिकले आज एक वक्तव्य जारी गरी नयाँ संविधानमा सहमति जुटाउन नेपाली राजनीतिक नेतृत्वले देखाएको एकताको भावनाको स्वागत गर्नुभएको छ ।

“गत महिनाका ठूला भूकम्पले सिर्जना गरेको कठिन समयमा भएको यो उपलब्धि विशेषरुपमा उल्लेखनीय छ,” वक्तव्यमा भनिएको छ ।

शान्तिप्रक्रिया पूरा गर्ने तथा नेपालको भावी विकासलाई मार्ग निर्देश गर्ने आधारभूत दस्ताबेज बनाउन भएको सहमतिलाई सार्थक कदम भन्दै अन्तर्राष्ट्रिय समुदायले पारस्परिक मेलमिलापको भावना र नेपाली जनताको आकांक्षाअनुसार संविधान लेखनमा लाग्न नेतृत्व पङ्तिलाई प्रेरित गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायले त्यस निम्ति नेतागणलाई आफ्ना प्रयास दोब्बर पार्न अनुरोध गर्दै नेपालको शान्ति प्रक्रिया र पुनः निर्माणमा सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ । रासस