२७ कार्तिक २०८३, शुक्रबार

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’को टोली आज कास्की आइपुग्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २१ मंसिर । नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’को टोली आज कास्की आइपुग्ने भएको छ ।

यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त संकल्प यात्राअन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको छ ।

एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको संकल्प यात्राको टोलीलाई आज दिउँसो कास्की र पर्वतको सीमा स्थल नयाँ पुलमा स्वागत गरिने भएको छ । आज नै कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

त्यस्तै, शुक्रबार बिहान पोखराको अमरसिंह चोक, ताल चोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रम हुने उनले बताए । सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ । “हेम्जा र तालचोकमा भेटघाटसहित पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ”, गुरुङले भने, “स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षज्यूले अन्तरक्रिया गर्नुहुनेछ ।”

संकल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ । आजको यात्रामा टोलीले १ सय २० किलोमिटर दुरी पार गर्नेछ । बुधबार करिब १ सय ५० किलोमिटर दुरी पार गरेको थियो ।

मध्य पहाडका सामाजिक आर्थिक, सांस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन, स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीमा मंसिर १४ गतेबाट एमालेले मध्यपहाडी राजमार्गको यात्रा सुरु गरेको हो । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित मंसिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस २ गते पाँचथरको चिवाभञ्जयाङ मा टुंगिनेछ ।