९ कार्तिक २०८३, सोमबार

मनकामना केबुलकार २५ वर्षमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । स्वर्गीय उद्यमी लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ।

केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा अझ स्तरीय सेवा दिने प्रतिबद्धता जाहेर गरेको छ। ‘२५औँ वार्षिकोत्सवको उपलक्ष्यमा हामी नेपालमा केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको साहसिक एवं ऐतिहासिक निर्णयको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धा अर्पण गर्न चाहन्छौँ,’ मनकामना दर्शन प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मनकामना दर्शन प्रालि ०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो। कम्पनीले ०५४ माघको अन्तिम साता केबुलकार निर्माण प्रारम्भ गरी ०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको थियो। २५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको कम्पनीका प्रबन्ध–निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्पनीले बाँकी काम सन् २०२४ को सेप्टेम्बर(अक्टोबरमा सम्पन्न गर्ने जनाएको छ। अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरूपमा सञ्चालन हुने बताइएको छ।

केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सन् २०२४ को अन्त्य वा २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधासम्पन्न रिसोर्ट निर्माण भइरहेको छ। ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ।