
काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने बताएका छन् ।
बुधबार पार्टी कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको कमजोरीका कारण प्रतिगामी शक्तिहरुलाई हौसला मिलेको भन्दै उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने बताएका हुन् । ओलीले सरकारका कारण देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको जिकिर गरे ।
देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने भन्दै उनले आवश्यक परे जनताले सडकाबाटै निर्णय लिन सक्ने चेतावनी दिए । अध्यक्ष ओलीले पछिल्लो अढाई बर्षमा मुलुकको स्वाधिनता अपहेलित अपमानित र तिरस्कृत भइरहेको भन्दै यो राष्ट्रका लागि शोभनीय र सम्मानजनक नभएको धारणा राखे ।
अहिले राष्ट्रहित नभई सत्ता स्वार्थलाई प्राथमिकतामा राख्दा मुलुक संकटको अवस्थामा पुगेको उनले बताए । त्यस्तै ओलीले वामपन्थी एकता गर्दा पार्टी फुट्ने भएकाले व्यवहारिक रुपमा सम्भव हुन नसक्ने स्पष्ट पारे । वामपन्थी शक्तिको एकता पपुलिष्ट कुरा भएकाले यस्ता कुरा नगर्न उनले आग्रह गरे ।
अध्यक्ष ओलीले एमालेको नीति र संगठनलाई स्वीकार गरेर मात्र एकता गर्न सकिने तर दुई वटा अध्यक्ष राखेर एकता हुन नसक्ने जिकिर गरेका हुन् । अध्यक्ष ओलीले महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको जानकारी पाएको बताए ।
अध्यक्ष ओलीले बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिसलाई चिर्न र खण्डन गर्न पार्टी पङ्तीलाई निर्देशन समेत दिए ।















प्रतिक्रिया