ललितपुर, २१ जेठ । जावलाखेलस्थित सदर चिडियाखानामा दर्शकहरुले बुधवारदेखि रातो पाण्डाको अवलोकन गर्न पाएका छन् ।
रामेछापबाट ल्याइएको करिब ६ वर्षको वयस्क पोथी पाण्डा सदर चिडियाखानामा सर्वसाधारणका लागि हेर्न खुला गरिएकोे चिडियाखानाका प्रमुख सरिता ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार विसं २०६९ चैतमा सो पाण्डा चिडियाखाना ल्याइएको भएपनि बिरामी भएको र पाण्डाका लागि उपयुक्त खोर नभएकाले सबै व्यवस्था मिलाई आजदेखि सबैका लागि खुला गरिएको हो ।
ज्ञवालीका अनुसार विसं २०४५ देखि अहिलेसम्म सदर चिडियाखानामा पाण्डा राख्न सकिएको थिएन । उक्त जनावर यही जेठको पहिलो सातादेखि सर्वसाधारणलाई देखाइने भनिएपनि खोर निर्माणमा ढिला भएकाले देखाउन नसकिएको हो ।
हिमाली भेगमा पाइने पाण्डाको सरदर उमेर १० देखि ११ वर्ष हुने गर्दछ । पाण्डाका लागि वातानुकूलित संयन्त्र (एयर कन्डिसन) जडान गरिएको खोर बनाइएको छ ।













प्रतिक्रिया