२९ आश्विन २०८३, बिहिबार

पेस्तोल र १५ राउन्ड गोलीसहित एक जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । कर्तव्य ज्यान मुद्दामा फरार रहेका सर्लाहीको बागमती नगरपालिका–१ का एक व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थापाको साथबाट अमेरिकामा निर्मित भनिएको ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ ।

कर्तव्य ज्यानजस्तो गम्भीर अपराधको मुद्दामा फरार रहेका थापा हातहतियार तथा गोलीसहित पक्राउ परेपछि प्रहरीले घटनालाई थप अनुसन्धानको दायरामा अघि बढाएको छ ।

पक्राउ परेका थापालाई बरामद हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले थापा कर्तव्य ज्यान मुद्दामा कुन घटनामा संलग्न रहेको आरोपमा फरार थिए भन्ने विषयमा भने थप विवरण सार्वजनिक गरेको छैन ।