काठमाडौँ, २१ जेठ । विभिन्न राजनीतिक दलका नेताहरुले संविधानसभाको क्षेत्राधिकार प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
रिपोर्टर्स क्लबद्वारा यहाँ बुधवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्ने नेताहरुले शान्ति र संविधान अहिलेको राष्ट्रिय एजेण्डा भएकाले त्यसका लागि वातावरण निर्माण गर्न उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले विगतमा सरकार र एकीकृत नेकपा(माओवादी)बीच भएको चारबुँदे सहमति कार्यान्वयन गर्न सरकार तयार रहेको बताउँदै उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरी त्यसको नेतृत्व एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई दिन तयार छौं भन्नुभयो ।
उहाँले सोही संयन्त्रमार्फत संविधानसभाबाहिर रहेका नेकपा–माओवादीलगायत विभिन्न दलसँग सर्वपक्षीय सम्मेलन गरेर भएपनि सबैलाई स्वीकार्य हुने संविधान जारी गर्नुपर्ने बताउनुभयो ।
एमाओवादीका नेता दीनानाथ शर्माले सरकारले आफूहरुसँग विगतमा भएको चारबुँदे सहमति कार्यान्वयन नगर्दा संसद् अवरुद्ध गर्नुपरेको बताउनुभयो ।
उहाँले जतिसक्दो चाँडो सहमतिअनुरुप उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन गर्नुपर्ने र त्यसको नेतृत्व अध्यक्ष दाहाललाई दिनुनपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जुन पार्टी सत्तामा गएपनि मुलुकको अर्थतन्त्र सिध्याउन पछि नहटेको भन्दै संसद् अवरुद्ध आफूहरुको बाध्यतात्मक परिस्थिति भएको बताउनुभयो ।
उहाँले अर्थमन्त्रीले प्रक्रियागत ढङ्गले आएका योजनामा रकमान्तर गरेको भए आफूहरुलाई कुनै आपत्ति नहुने विचार व्यक्त गर्नुभयो ।













प्रतिक्रिया