
काठमाडौं, ८ कात्तिक । नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको भ्रामक प्रचारको निन्दा र भर्त्सना गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्यसमेत रहेका प्रचार विभाग प्रमुख गौतमले अध्यक्ष ओलीविरुद्ध राजावादी ‘भरौटे’हरुले आपत्तिजनक प्रचार गरेको भन्दै खेद प्रकट गरेका हुन् ।
‘राष्ट्रवादी अडान, मौलिक विकासका प्रणेता, समृद्ध नेपाल : सुखी नेपालीका मुख्य योजनाकारका विरुद्ध केही पुनरात्थानवादी, प्रतिगमनकारी कथित राजावादीका भरौटे, दलालहरुद्वारा गरिएको हमलाप्रति घोर भर्त्सना र निन्दा गर्दछौं,’ गौतमले भनेका छन् ।
उनले प्रायोजित रुपमा अध्यक्ष ओलीमाथि आक्रमण गरी कम्बोडिया टेलिकममा लगानी भएको दुश्प्रचार गरिएको बताए । ‘घोर दक्षिणपन्थी, पुनराउत्थानवादी, राजावादी भरौटे तत्वहरुवाट टेलिकममा लगानी नामको कथित समाचार प्रायोजित गरी गरिएको हमला पुष्टि गर्न चुनौति दिन्छु,’ गौतमले भने ।
गौतमले ओली जस्तो राष्ट्रवादी र विकासको भिजन भएको नेताको विरुद्ध गरिएको हर्कत तत्काल रोक्न चेतावनी पनि दिएका छन् । ‘एउटा राष्ट्रवादी, विकासप्रेमी, परिवर्तनकारी नेताको चरित्र हत्या गरी जनताको विश्वासलाई धुमिल बनाएर धमिलो पानीमा माछा मार्ने दुस्साहस/दुस्प्रयास नगर्न चेतावनी दिन्छु,’ प्रमुख गौतमले भनेका छन् ।











प्रतिक्रिया