– सुदीप अधिकारी
बर्दिया, २१ जेठ । बर्दियाको धधवार गाविसका ६ जना यूवाले विनाशकारी भूकम्प पीडितहरुको सहयोगका लागि झण्डै साढे २ लाख रुपैयाँ संकलन गरी बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, युवाहरुको आव्हान भूकम्प पीडितहरुका लागि राहत संकलन अभियान’ भन्ने नाराका साथ स्थानीय ६ जना यूवाहरुले चलाएको राहत संकलन अभियानमा धधवार गाविसका ९ वटै वडाका २० वटा गाउँबाट संकलित रकम २ लाख ४६ हजार ४ सय ४२ रुपैयाँ आज एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरलाई हस्तान्तरण गरिएको हो ।
संकलित राहत हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुँवरले यूवाहरु नै देशका मेरुदण्ड हुन् भन्ने उदाहरण धधवारका युवाहरुले प्रस्तुत गरेको उल्लेख गर्दै गत साउनमा बाढीको चपेटामा परेका बर्दियाबासीहरुले पनि भुकम्प पीडितका लागि गरेको सहयोगको प्रसंसा गर्दै आफुलाई प्राप्त संकलित राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने बताउनुभयो ।
स्थानीय यूवा महेन्द्र विष्टको नेतृत्वमा ३ साता अघि दिपक लम्साल, महेश विष्ट, जनक विष्ट, विकास खत्री, र माधव विसीको सहयोगमा राहत संकलन अभियान संचालन गरिएको थियो ।
अध्ययनको क्रममा काठमाण्डौ बसेका महेन्द्र विष्ट, महेश विष्ट र विकास खत्री विनाशकारी भूकम्प पश्चात पालमुनीको कष्टकर बसाईपछि बर्दिया फर्केका छन् । भूकम्प पीडितलाई केही गर्ने अठोटका साथ गृह जिल्ला फर्केपछि अन्य सहयोगी साथीहरुको सहयोग र सल्लाहमा राहत संकलन अभियान संचालन गरिएको अभियानका संयोजक महेन्द्र विष्टले बताए ।
युवाहरुको अभियानलाई थप बल पुर्याउन स्थानिय निजी विद्यालय विज्डम क्वालिटी ईंग्लिस मिडियम स्कुल धधवारले पनि ठूलो सहयोग गरेको छ । संकलित रकम पीडितहरुकै लागि मात्र प्रयोग होस् भनेर उक्त विद्यालयले अभियानका क्रममा लाग्ने सबै खर्च व्यहोरोको छ ।
‘जसरी जे भएपनि सहयोग गर्ने हो । अभियानमा जुटेका युवाहरुलाई हौसला बढाएर अभियान सफल बनाउन सम्पूर्ण व्यवस्थापन खर्चको जिम्मा एक्लैले लिएको हु’, विज्डम क्वालिटी ईंग्लिस मिडियम स्कुलका संचालक दिपक लम्सालले बताए ।
















प्रतिक्रिया