२९ आश्विन २०८३, बिहिबार

उप–निवाचनको प्रचार प्रसार तीव्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kailaliधनगढी, २१ जेठ । आगामी असार ८ गते हुने संविधानसभाको उप निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली निर्वाचन क्षेत्र नं ६ मा राजनीतिक दलहरुले आ–आफ्नो दलका उम्मेदवारलाई विजयी बनाउन प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।

जेठ महिनाको प्रचण्ड गर्मीको परवाह नगरी दलका नेता तथा कार्यकर्ताहरु दिनभरि नै प्रचार प्रसारमा जुटेका देखिन्छन् । यस क्रममा घरदैलो कार्यक्रमका साथै टोलटोलमा चुनावी भेला र सभा पनि भइरहेका छन् ।

उप–निर्वाचनमा पहिलो पटक विद्युतीय मेसिनद्वारा मतदान गर्ने व्यवस्था गरिएकाले दलहरुले प्रचार प्रसारका अलावा मतदातासमक्ष विद्युतीय मतदानबारे पनि जानकारी दिने गरेका छन् ।

काँग्रेस, एमाले, राप्रपा नेपाल, एमाओवादी, फोरम लोकतान्त्रिकका उम्मेदवारको प्रचार प्रसार अन्य दलका उम्मेदवारभन्दा बढी देखिने गरेको छ । विगतका निर्वाचनमा जस्तो चुनावका बेला देखिने पर्चा, पम्ल्पेट, वाल पेन्टिङजस्ता गतिविधि भने  अहिले देखिएको छैन ।

कैलाली क्षेत्र नं ६ मा १५ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भए पनि मुख्य प्रतिस्पर्धा भने नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा नेपाल, एनेकपा माओवादी र फोरम लोकतान्त्रिकका उम्मेदवारबीच नै हुने स्थानीय मतदाताले बताएका छन् ।

कांग्रेसले पूर्व राज्य मन्त्री एवम् युवा नेता पुष्करनाथ ओझा, एमालले महेश्वर पाठक, राप्रपा नेपालले राजेश भण्डारी, एमाओवादीले सुन्दरराज रेग्मी र फोरम लोकतान्त्रिकले लक्ष्मण थारुलाई प्रत्यासी बनाएको छ ।

यसै क्षेत्रबाट उम्मेदवारी दिएका थारुहट तराई पार्टीका नेता भानुराम चौधरी पनि थारु समुदायमा लोकप्रिय नेता मानिनुहुन्छ । गत मङ्सिरको निर्वाचनमा कैलाली क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुभएका चौधरी मत परिणामका हिसाबले तेस्रो स्थानमा आउनु भएकाले पनि क्षेत्र नं ६ मा हुन गइरहेको चुनावमा उहाँले पाउने मतबाट चुनावी परिणाम फरक हुनसक्ने एकथरी मतदाताको विष्लेषण रहेको छ ।

यद्यपि क्षेत्र नं ३ को तुलनामा क्षेत्र नं ६ मा चौधरी थारु समुदायका मतदाता निकै कम रहेका छन् । एमालेका पाठक र फोरम लोकतान्त्रिकका थारु यसअघि मङ्सिरमा भएको निर्वाचनमा क्षेत्र नं ६ बाट नै आ–आफ्नो दलका तर्फबाट उम्मेदवार भई पराजित हुनुभएको थियो ।

उप–निर्वाचनका लागि यो क्षेत्रमा राप्रपाले गङ्गाराम राना, नेपाल कम्युनिस्ट पार्टीले हरिमोहन चौधरी, नेपाल परिवार दलले रामप्रसाद चौधरी, राष्ट्रिय जनमोर्चाले सूर्यप्रकाश साउद, नेमकिपाले रमेशकुमार रावल, सद्भाना पार्टीले मुनिन्द्र सिंह, सङ्घीय सद्भावना पार्टीले अर्जुनप्रसाद चौधरी, थारुहट तराई पार्टी नेपालले भानुराम डगौरा थारु र नेकपा संयुक्तले डम्मरादेवी धानुकलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारी दिएका सङ्घीय समाजवादीका केन्द्रीय नेता होरीलाल चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ भने नेपाल आमा पार्टीका गोरखबहादुर रावत, स्वतन्त्र उम्मेदवार नरेन्द्रसिं देउवा र नेकपा (माले)का अम्बिका विष्टको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेपछि बाँकी रहेका १५ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।

गत मङ्सिरमा भएको निर्वाचनमा डडेलधुरा र कैलाली क्षेत्र नं ६ बाट विजयी काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली निर्वाचन क्षेत्र नं ६ छोड्नु भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उक्त निर्वाचनमा कैलाली क्षेत्र नं ६ मा काँग्रेसका वरिष्ठ नेता देउवा १६ हजार ४८९ मत ल्याई विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेश्वर पाठकले आठ हजार ५६३ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै तेस्रो स्थानमा एमाओवादीकी लीला भण्डारीले चार हजार ७६४, चौथो स्थानमा फोरम लोकतान्त्रिकका लक्ष्मण चौधरीले चार हजार ४७३ र पाँचाँै स्थानमा राप्रपा नेपालका पुष्करदत्त भट्टले दुई हजार ४७३ मत प्राप्त गर्नुभएको थियो ।

धनगढी नगर क्षेत्र, उर्मा र फूलबारी गाविस पर्ने क्षेत्र नं ६ मा ६१ हजार ८१७ मतदाता रहेका छन् ।