६ कार्तिक २०८३, शुक्रबार

एमालेका स्वयंसेवकले एकैदिन भूकम्प पीडितका १२ सय घर बनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnet10 copy

काठमाडौं, १९ जेठ । नेकपा (एमाले)को पुनर्निर्माण अभियान अन्तर्गत १०औं दिन स्वयंसेवकहरुले मंगलबार २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा निर्माण कार्य जारी राखेका छन् ।

राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत मंगलबार एकै दिनमा एक हजार दुई सय अस्थायी घर र एक दर्जन विद्यालयको निर्माण कार्य सम्पन्न भएको छ ।

अभियान सञ्चालन भएको १० दिनको अवधिमा मंगलबार सम्म ७ हजार दुई सय अस्थायी घर निर्माण भएका छन् भने घर भत्काउने काम पनि सात हजार भन्दा बढीकै संख्यामा सम्पन्न गरिएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वयंसेवकहरुको निर्माण कार्य सुरुका दिनहरुमा भन्दा निकै तीब्र रफ्तारमा अघि बढेको छ ।

दशौं दिन नेकपा एमालेले प्रभावित जिल्ला गरेको कार्य यसप्रकार छ । एमालेले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै:

प्रेस नोट

नेकपा (एमाले)का स्वयंसेवकहरुले राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत आज २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा निर्माण कार्य जारी राखेका छन् । यस क्रममा एकै दिनमा आज एक हजार दुई सय अस्थायी घर र एक दर्जन विद्यालयको निर्माण कार्य सम्पन्न भएको छ । अभियान सञ्चलन भएको १० दिनको अवधिमा आज सम्म सात हजार दुई सय अस्थायी घर निर्माण भएका छन् भने घर भत्काउने काम पनि सात हजार भन्दा बढीकै संख्यामा सम्पन्न गरिएको छ । स्वयंसेवकहरुको निर्माण कार्य सुरुका दिनहरुमा भन्दा निकै तीब्र रफ्तारमा अघि बढेको छ ।
– काठमाडौं–७ मा नेकपा (एमाले)का स्वयंसेवकहरुले निर्माण गरेका अस्थायी घर पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले घरधनीलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले सिंगो देशलाई एकजुट बनाएर भुकम्प पिडित जनताको पिडामा मलम लगाउन सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको स्पष्ट पार्दै राष्ट्रिय सरकार बनाएर संविधान निर्माण तथा विपतको सामना एकसाथ गर्न जरुरी रहेको बताउनुभयो । बोहराटार टौडल सहित क्षेत्र नं.७ मा स्वयंसेवकहरुले १०३ वटा नयाँ घर निर्माण गरेको ९६ घर भत्काएको र ५ वटा स्कूलका कक्षा कोठाहरु निर्माण गरेको छ । अध्यक्ष ओलीले स्थानीय हरिबहादुर बलामी र सगुन श्रेष्ठलाई नव निर्मित घरको चाबी खोलेर हस्तान्तरण गर्दै आफ्नो पार्टी राष्ट्रव्यापी रुपमा पिडित जनताको दुःखमा मलम लगाउन सक्रिय रहेको उल्लेख गर्नुभयो । पार्टी पोलिटब्युरो सदस्य कमरेड प्रकाश ज्वालाको संयोजनमा सम्पर्क समन्वय कमिटीका स्वयंसेवकहरुले निर्माण गरिएका अस्थायी घर हस्तान्तरण कार्यक्रममा अध्यक्ष कमरेड ओलीले स्वयंसेवकहरुले गरेको पुननिर्माण कार्यको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा पार्टी उपमहासचिव विष्णु पौडेल, पोलिटव्यूरो सदस्यहरु अग्नी खरेल, प्रकास ज्वाला र सानुकुमार श्रेष्ठ तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापा, काठमाडौं जिल्ला इन्चार्ज सावित्रा भुषाल र बैकल्पिक केन्द्रीय सदस्य तिलक महत, सम्पर्क समन्वय कमिटीका सहईन्चार्ज विजय गुरुङ, सभासद रामविर मानन्धर र युवा नेता बसन्त मानन्धर लगायतका नेताहरुको उपस्थिति थियोे ।
–पार्टी महासचिव कमरेड ईश्वर पोखरेलले स्वयंसेवकहरुले दोलखामा गरिरहेको पुनर्निर्माणको अनुगमन गर्नुभएको छ । लापिलाङ, लामिडाँडा, चरिकोट र सिंगटी क्षेत्रमा पुगेर महासचिव कमरेड पोखरेलले अनुगमन गर्नुभएको हो । महासचिव पोखरेललाई दोलखाका प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामिछानेले जिल्लामा सबै पक्षबाट निर्माण कार्यमा भइरहेको सरसहयोग र पुनः निर्माणसम्बन्धमा जानकारी गराउनुभयो । आजै पार्टी पोलिटव्यूरो सदस्य पशुपति चौलागाई र सभासद तथा केन्द्रीय सदस्य पार्वत गुरुङले जिरीस्थित उच्च माविको भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ ।
– पार्टी सचिव तथा अभियानका संयोजक कमरेड गोकर्ण विष्टले ललितपुरको लुभुमा गुठीद्वारा संचालित वेस्ट विङग उच्च माविको पाँच कोठा अस्थायी सिकाई केन्द्रको भवन हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा संयोजक विष्टले भन्नुभयो – हरेक नागरिकले आफ्नो ज्ञान, सीप र क्षमतालाई देश र जनताको हितमा सेवाभावका साथ प्रयोग गरेर मात्रै देशलाई विपत्तीबाट पार लगाउन सकिन्छ । त्यसैकारण नेकपा (एमाले) अहिले आफ्नो सम्पूर्ण कार्यकर्तापंक्तिलाई जनताको सेवमा परिचालित गरेको छ । यो अभियानमा हामीले जतिमात्रामा जनताको सेवा गर्न सक्छौं, त्यति नै भुकम्प पिडितहरुको दुःख र पिडामा मलमको काम लगाउन सकिने छ । टोलीले लुभु, टीकाथली र सिद्धिपुरमा २० वटा क्षतिग्रस्त घरको भग्नावशेष हटाउने काम गरेको छ ।
अभियान संचालित विभिन्न जिल्लाहरुमा आज निम्न बमोजिम काम सम्पन्न भएको छ ।
चितवन ः सिद्धि, लोथर, काउले र दारेचोकका चेपाङ बस्तीहरुमा २६ घर निर्माण गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले यी दुर्गम गाविसहरुमा भै रहेको निर्माण कार्यको अनुगमन गर्नुभएको छ । उहाँका साथ जिल्ला संयोजक बैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल र सभासद कृष्णभक्त पोखरेल लगायतका नेताहरु पनि हुनुहुन्थ्यो ।
पाल्पा ः क्षेत्र नं. १ का सहलकोट, झिरुवास, अर्चले, रिङनेरह, गल्ढा र चिलुवा गरी ६ गाविसमा सय जनाको टोली क्रियाशील छ । यी गाविसमा एक सय घर परिवारका लागि अस्थायी भवन निर्माण गर्ने काम भइरहेको छ ।
क्षेत्र नं. २ को कोल्डाँडा गाविसमा युवासंघको टोलीले २० वटा अस्थायी घर निर्माण गरेको छ ।
क्षेत्र नं. ३ मा क्षेत्रीय कमिटीको नेतृत्वमा परिचालित टोलीले ख्याहा, अर्गली, ठिमुरे र छहरा गरी चारवटा गाविसमा गरी २० वटा अस्थायी घर निर्माण गरेको छ ।
पर्वत ः क्षेत्र नं. १ को देउपुर गाविसस्थित जननेत्रा उच्च माविको अस्थायी भवन निर्माण भएको छ । बाजुङ गाविसको ओखलढुंगामा ३ घरपरिवारका लागि टोलीले ३ अस्थायी घर निर्माण गरेको छ । राम्जा र चित्रे गाविसमा पनि स्वयंसेवक टोली परिचालित छ ।
क्षेत्र नं. २ मा रानीवास, देउलीवास र घोर्ले गरी तीन गाविसमा आजदेखि कार्य सुरु भएको छ ।
स्याङ्जा ः क्षेत्र नं. १ मा पञ्चमूल गाविस–७ तमाखुवारीमा २ सय २५ जनाको टोलीले २१ वटा अस्थायी घर निर्माण गरेको छ ।
क्षेत्र नं. २ मा ५० जनाको टोलीले थुमपोखरा गाविस–२ बजीभञ्ज्याङमा २ अस्थायी घर निर्माण गरेको छ ।
क्षेत्र नं. ३ मा सेखाम गाविस–३ मा ४ वटा र सखर गाविस–९ खासामा ४ वटा अस्थायी घर निर्माण गरिएको छ ।
बाग्लुङ ः क्षेत्र नं. १ रेस र सिंगाना गाविस तथा बाग्लुङ नगरपालिका वडा नं. ३ र ५ मा गरी ४ वटा स्थायी प्रकृतिका घर निर्माण गरिएको छ । यहाँ जम्मा २५ वटा स्थायी प्रकृतिका घर निर्माण गर्ने कार्य भइरहेको छ ।
क्षेत्र नं. २ मा बिनामारे गाविस र मल्म गाविसमा स्थायी प्रकृतिका घर बनाउने कार्य आजदेखि प्रारम्भ भएको छ ।
गुल्मी ः जिल्लाको नयाँगाउँ गाविसमा ४ वटा, घुर्कोट रजस्थलमा २ वटा, जैसीथोक गाविसमा २ वटा, वामीटक्सार गाविसमा ६ वटा र रिमुवा गाविसमा टोलीले ८ वटा अस्थायी घर निर्माण गरेको छ । आपचौर, पूर्तिघाट, फोक्सिङ र भुर्तुङ गरी ४ गाविसमा टोली पुनर्निर्माणमा क्रियाशील रहेको छ ।
भोजपुर ः जिल्लाको दोभाने, खाटाम्मा, कुदाक काउले र चौकीडाँडा गरी ४ वटा गाविसमा विभिन्न विद्यालय र घर पूर्ण क्षति भएका घर परिवारका लागि अस्थायी भवन कार्य स्थानीय स्वयंसेवक टोलीले प्रारम्भ गरेको छ ।
खोटाङ ः जिल्लाका ७२ गाविसमध्ये ५५ गाविस र एक नगरपालिकामा अस्थायी बसोबासका लागि व्यवस्थापन गर्ने कार्य स्थानीय स्वयंसेवक टोलीले प्रारम्भ गरेको छ ।
ओखलढुंगा ः निजी अस्थायी घर ४३, विद्यायल ६ निर्माण गरिएको र ७२ घरको भग्नावशेष हटाइएको छ ।
सिन्धुपाल्चोक ः क्षेत्र नं. १ मा भेरी अञ्चलबाट आएको टोलीले सुनकोशी उच्च मावि, कर्थली ३, कर्थली–१ स्थित कुम्भेश्वरी प्राथमिक विद्यालय दुर्गास्थली प्रावि, कागेश्वरी मावि घोर्थली र राम मावि चोकटीका भग्नावशेष हटाउँदै निर्माण कार्य पुरा गरेको छ । सुर्खेत जिल्ला कमिटीका सचिव मोहन सिं बडुवालको नेतृत्वमा रहेको स्वयंसेवक टीमले विद्यालयका सरसामग्री पुरिएको ठाउँबाट सुरक्षित गर्ने र पढाई सुचारु गर्न सकिने संरचना निर्माण गर्न ध्यान केन्द्रित गरेको थियो ।
क्षेत्र नं. २ को टोलीले सिपापोखरीमा ७४ वटा व्यक्तिगत अस्थायी घर निर्माण गरेको छ । टोलीले ६ वटा विद्यालय र क्याम्पस तथा एक सरस्वती मन्दिर निर्माण गरेको छ । यहाँ कार्यरत टोली आज सदरमुकाम चौताराको श्रीकृष्ण रत्नगंगा उच्च माविको भवन निर्माणका लागि प्रस्थान गरेको छ ।
क्षेत्र नं. ३ को शिखरपुर गाविसको शितलादेवी माध्यमिक विद्यालयमा युवा संघको टोलीले अस्थायी घर निर्माण गरेको छ । अर्काे टोलीले तेर्से उच्च माध्यामिक विद्यालय तरामाराङको अस्थायी भवन निर्माण गरेको छ । त्यसैगरी सरस्वती उच्च मध्यामिक विद्यालयको २ वटा अस्थायी भवन निर्माण गरेको छ ।
रामेछाप ः रामेछाप जिल्लामा परिचालित स्वयंसेवकको टोलीले मन्थली नपा करमवोट स्थित तामाकोशी प्रा.वि को भग्नावशेष हटाई अस्थायी भवन निर्माण गरेको छ । अस्थायी भवन निर्माणसँगै आजदेखि पढाई सुचारु भएको छ । साथै रामेछाप उच्च माविको भग्नावशेष हटाउने कार्य शुरु भएको छ ।
रसुवा ः रसुवा जिल्लामा परिचालित स्वयंसेवकको टोलीले आज धैबुन–९ मा रहेको निलकण्ठ नमुना उच्च माविको २ कोठे र सेतीदेवी उच्च मावि, भोर्लेमा ४ कोठे अस्थायी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । भोर्ले–६ स्थित देउराली गौंडा प्राविको भग्नावशेष हटाएको छ भने भोर्ले–६ मा बुद्धिबहादुर तामाङको परिवारका लागि १ अस्थायी घर निर्माण गरेको छ ।
गोरखा ः क्षेत्र नं. १ को नारेश्वर गाविसमा २ अस्थायी घर एकल महिलाका लागि, उत्पिडित परिवारका लागि एक अस्थायी घर सहित ४ घरपरिवारका लागि ४ वटा अस्थायी घर स्वयंसेवक टोलीले निर्माण गरेको छ । त्यसैगरी नारेश्वरमै तीन दिन लगाएर एक घरको भग्नावशेष हटाएको छ ।
लम्जुङ ः क्षेत्र नं. १ को गौडामा ७ अस्थायी घर र क्षेत्र नं. २ को सुन्दर बजार नपा परेवाडाँडामा ३८ वटा नयाँ अस्थायी घर बनाइएको छ ।
क्षेत्र नं. २ को केराबारीमा १० घर परिवारको लागि अस्थायी घर निर्माण भएको छ भने नेत्रहीन बाबुराम श्रेष्ठ सहित २ घर परिवारका लागि २ वटा अस्थायी घर निर्माण गरिएको छ ।
क्षेत्र नं. ३ को आरुबाङ गाविस स्थित स्थानीय निमाविको ६ कोठे अस्थायी भवन निर्माण गरिएको छ भने १ घर परिवारका लागि अस्थायी घर निर्माण भएको छ । त्यस्तै ४ वटा घरको भग्नावशेष हटाउने कार्य भएको छ ।
काठमाडौं ः क्षेत्र नं. २ मा परिचालित टोलीले नाङ्गलेभारेमा ३ वटा घर निर्माण गरि अर्काे तीनवटा भग्नावशेष पन्छाएको छ । नविनग्राम शिक्षा मन्दिर माविको ३ वटा अस्थायी भवन निर्माण गरेको छ ।
क्षेत्र नं. ४ मा परिचालन भएको टोलीले काठमाडौं महानगरपालिका–८ मा ८ वटा भत्किएका घरबाट सामान झिक्ने र भग्नावशेष हटाउने काम गरेको छ । गुहेश्वरी सम्पदा भवनलाई सफाई गर्ने काम गरेको छ ।
क्षेत्र नं. ५ मा परिचालित स्वयंसेवक टोलीले टोखामा २ वटा घर, धापासीमा २ वटा, महाराजगंजमा १ घर, बुढानिलकण्ठमा ६ वटा घरको भग्नावशेष पन्छाएको छ । बुढानिलकण्ठमा एउटा अस्थायी घर निर्माण गरेको छ ।
क्षेत्र नं. ८ मा वडा नं. २५ मखबहाः गल्लीमा जाने बाटो सफा गरिएको छ । साथै कृष्ण सुन्दर श्रेष्ठको भत्केको घरबाट भग्नावशेष हटाइएको छ । यस घरमा एकै परिवारका ६ जना सदस्यको मृत्यु भएको थियो । वडा नं. १५ मा श्याम गौतमको घरको धराप भत्काउने र एकल महिला मनकुमारी गुरुङको घर भत्काई एक तल्लामा छाना हाल्ने काम भएको छ ।
क्षेत्र नं. ९ मा परिचालित स्वयंसेवक टोलीले भीमढुंगा, रामकोट,, पुरानो नैकाप, दहचोक, स्युचाटार र नयाँ नैकापमा ७ घर भग्नावशेष हटाउने कार्य गरेको छ भने रामकोटमा एक घर परिवारका लागि १ वटा अस्थायी घर निर्माण गरेको छ ।
क्षेत्र नं. १० मा दक्षिणकाली नपा–९ मा १० वटा घरको भग्नावशेष हटाउने कार्य भएको छ । कीर्तिपुर नपा–१४ मा एक घर र चन्द्रागिरी नपा मच्छेगाउँमा ४ वटा घर भग्नावशेष हटाउने काम भएको छ । कीर्तिपुर नपा–२ मा ५ परिवारका लागि सामुहिक अस्थायी घर निर्माण गरिएको छ । थानकोट चेकपोष्ट स्थित ईट्टाखेल घुमाउने वडा नं. १० र ११ मा १३ घर भत्काइएको छ ।
ललितपुर ः क्षेत्र नं. १ को टोली लेलेमा कार्यरत छ । भोली यहाँ भएको निर्माण कार्यको अनुगमन तथा अस्थायी घर हस्तान्तरण कार्यक्रम राखिएको छ ।
क्षेत्र नं. ३ को टोली बुङमति बाट ठैब पुगेको छ । टोलीले आज १५ वटा धराप घर भत्काएको छ र २ दिन सम्म यहीं काम गर्नेछ ।
दोलखा ः क्षेत्र नं. १ मा परिचालित स्वयंसेवक टोलीले जिरी उच्च माविको, जिरीको ६ कोठे अस्थायी भवन निर्माण सम्पन्न भएको छ । आजै पार्टी पोलिटव्यूरो सदस्य पशुपति चौलागाई र सभासद तथा केन्द्रीय सदस्य पार्वत गुरुङले जिरीस्थित उच्च माविको भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ ।
क्षेत्र नं. २ मा परिचालित स्वयंसेवक टोलीले सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा ३ वटा अस्थायी भवन निर्माण गरेको छ ।
काभ्रेपलाञ्चोक ः क्षेत्र नं. १ विर्ता देउराली गाविसमा १२ अस्थायी घर बनाईएको छ भने २ वटा विद्यालयको भग्नावशेष हटाइ सफाई गरिएको छ ।
क्षेत्र नं. ३ देउपुर गौरीविसौना र नयाँ गाउँमा महाकाली उच्च माविको ३ कोठा भवन निर्माण गरि हस्तान्तरण गरिएको छ भने १४ वटा घर र १ गोठ बनाइएको छ भने ३ वटा घर भत्काइएको छ ।
सिन्धुली ः पञ्चकन्या निमावि ज्यामिरे दुम्जाको नयाँ अस्थायी भवनका ८ वटा कोठा निर्माण गरी हस्तान्तरण गरिएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज रविन्द्र अधिकारीले उक्त विद्यालय व्यवस्थापन समितिलाई आजै हस्तान्तरण गर्नुभएको छ । सिन्धुलीमा हालसम्म स्वयंसेवक टोलीले १०४ वटा अस्थायी घर र ९ वटा स्कूल निर्माण गरिसकेको छ ।
नुवाकोट ः क्षेत्र नं. ३ मा बुधसिं गाविसमा २५ वटा अस्थायी घर र महेन्द्र मावि चारघरे गौरीबेसीमा ४ कोठा भवन निर्माण गरिएको छ ।
धादिङ ः क्षेत्र नं १ सल्यानटार –८ विशालबजारमा रहेको ठूलीदेवी माविको कम्पाउण्ड घेरिएको छ भने स्कुलको सरसफाई पनि गरिएको छ ।सल्यानटार ४ र ५ नंं. वडामा रहेका स्थानीय भूकम्प पीडित ११ जनाको घर टहरा निर्माण गरिएको छ ।
क्षेत्र नं २ अन्र्तगत बेनीघाट गाविसको वडा नं ८ मा रहेको चन्द्रोदय माविमा अस्थायी भवन निर्माण गरिएको छ । अनेरास्ववियुका विभिन्न स्वंयसेवीहरु मिलेर सोमबारदेखि उक्त विद्यालयको टहरा निर्माणमा जुटेका थिए । यहाँ ५ कोठे अस्थायी भवन निर्माण गरिएको छ । टोलीले नीलकण्ठ नगरपालिकाको –८ मा रहेको कालिका प्राविको ४ कोठे अस्थायी भवने निर्माण गरेको छ । टोलीले नीलकण्ठ नगरपालिका ९ मा रहेको पाल्पा सामरीभन्ज्याङ प्राविको ५ कोठाटहरा निर्माण गरेको छ ।
क्षेत्र नं ३ मा रहेको टोलीले थाक्रे गाविस वडा नं –४ मा २ वटा, वडा नं ५ मा ३ वटा र वडा नं ८ मा ५ वटा भूकम्प पीडित स्थानीयहरुको अस्थायी घर निर्माण गरेका छन् । हाल सम्म यस क्षेत्रमा ५६ वटा अस्थायी घर निर्माण, १७ घर मर्मत, २ स्कूल सफाई र १ घर सफाई गरिएको छ ।
हार्दिक श्रद्धाञ्जली
राष्ट्रिय स्वयंसेवक परिचालन अभियानमा संलग्न युवा संघ नेपालका उपत्यका अञ्चल कमिटीे अध्यक्ष राजेन्द्र श्रेष्ठको अल्पायुमै दुःखद निधन भएको छ । उहाँ एक जना सचेत, कर्मठ र इमान्दार व्यक्तित्व हुनुहुन्थ्यो । नेकपा (एमाले)का जुझारु र कर्मठ कार्यकर्ता श्रेष्ठको निधनले पार्टीलाई अत्यन्त दुखित तुल्याएको छ । काठमाडौं साँखुका वासिन्दा श्रेष्ठ स्थानीय तहमा र जिल्लामै समेत उर्जाशील युवा नेताका रुपमा लोकप्रिय हुनुहुन्थ्यो । आजै पार्टी केन्द्रीय कार्यालय सचिव कमरेड कृष्णगोपाल श्रेष्ठले साँखुस्थित निवास पुगेर परिवारजनका सदस्यहरुलाई भेटी गहिरो समवेदना व्यक्त गर्नुभयों । हामी दिवंगत कमरेड राजेन्द्र श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
सूर्य थापा
उपप्रमुख
केन्द्रीय प्रचार विभाग