
काठमाडौं, १ भदौ । कानून न्याय तथा संसदीयमन्त्री धनराज गुरूङले सुन तस्करी प्रकरणलाई सामान्य त्रुटि मान्न नसकिने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेँलो हात्तीको संज्ञा दिँदै सामान्य त्रुटी मान्न नसकिने बताएका हुन् ।
प्रकरणको एक छानविन प्रतिवेदनमा साधारण हेलचेक्र्याईँले सुन तस्करी भएको खबर पढेको भन्दै उनले ठूलो पहेँलो हात्ती अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनु सामान्य हुनै नसक्ने तर्क गरे ।
मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई नछाड्ने स्पष्ट पारे । मुलुकलाई भ्रष्टाचारमुक्त गर्नका लागि टिप्पणी उठाउनेहरूको हातमा मात्रै हत्कडी लगाएर नपुग्ने र टिप्पणी उठाउन आदेशहरु दिनेहरुलाई सलाम ठोक्ने प्रवृति अन्त्य हुनुपर्ने उनले बताए ।
गुरूङले सरकारको कार्यक्रममा उच्चतहका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर देखाउनका लागि मात्रै लेखिएको नभइ कार्यान्वयन नै हुने स्पष्ट पारे ।
त्यस्तै मन्त्री गुरुङले आफू अहिले बिरामी निको भएर काममा फर्किएको भन्दै आफ्नो उपचारमा लाग्ने खर्च सरकारी कोषबाट नलिने स्पष्ट पारे ।















प्रतिक्रिया