
काठमाडौं, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका हुन् ।
उनले छिमेकी मित्रराष्ट्र चीनसँग चिलिमे-केरुङ २२० के.भी. प्रसारण लाइन निर्माणमार्फत जोडिन अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको जानकारी दिए । प्रचण्डले हाल भारतमा करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको सन्दर्भलाई दक्षिण एसियामै विद्युत व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रुपमा हेरिएको जिकिर गरे ।
भारतसँगको उक्त समझदारीलाई मूर्तरूप दिन अन्तरदेशीय प्रसारण संरचनाहरूको योजना र निर्माणमा दुबै देशका तर्फबाट आवश्यक कार्यहरूले गति लिन थालेको प्रधानमन्त्रीको भनाइ । प्रधानमन्त्री प्रचण्डले यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको पनि जिकिर गरे ।
विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशय तथा १०,८०० मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढाउने सोंच र लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्रीले बताए ।
त्यस्तै उनले वर्तमान पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह समेत गरे ।















प्रतिक्रिया