
काठमाडौं, २८ साउन । मदन भण्डारी लोकमार्ग उदयपुर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं. ५ स्थित मौवासी खोला पुल नजिक गएको पहिरोका कारण मदनभण्डारी लोकमार्ग अवरुद्ध भएको हो ।
सदरमुकाम गाइघाटबाट करिब ३० किलोमिटर पश्चिम मौवासी पुल नजिक पहिरो गएको हो । अबिरल बर्षसंगै गरेको पहिरो खुलाउन अहिले सडक विभागले काम सुरू गरेको भएपनि सडक खुलाउन निकै समय लाग्ने उदयपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार बिहानैदेखि सडक खुलाउने प्रयास गरिएको भएपनि लगातारको बर्षाका कारण समय लागिरहेको छ ।
पहिरोले झन्डै एक सय मिटर भन्दा धेरै बाटो अवरुद्ध गरेको र निरन्तर पहिरो झरिरहेको छ ।
हाल उक्त सडक खण्ड भएर पश्चिम बाट पूर्वतर्फ जाने लामो तथा छोटादूरीका सवारी साधनलाई कटारीबाटै अर्को बाटो पठाइएको छ भने पूर्वबाट पश्चिम जाँदै गरेका सवारीलाई गाईघाट बाटै वैकल्पिक बाटो पठाइएको छ ।















प्रतिक्रिया