काठमाडौँ, १७ जेठ । नेकपा एमाले र एकीकृत नेकपा माओवादी राष्ट्रिय सरकारको गम्भीर बहसमा जुटिरहेका बेला प्रधानमन्त्री सुशील कोइरालाको फरक धारणा आएको छ ।
प्रधानमन्त्री निवास बालुटावारमा आइतबार संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले तत्काल प्रधानमन्त्री पद् नछाड्ने संकेत गरेका हुन् । संविधान जारी गरेपछि मात्रै आफूले सरकारको नेतृत्व छाड्ने उनको भनाइ छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका काठमाडौँको सेतो गुम्बाका रिन्पोछे चोक्यी ङ्मि रिन्पोछे नेतृत्वको टोलीको राहत रकम बुझेपछि प्रधानमन्त्रीले आफ्ना धारणा राखेका थिए ।
प्रधानमन्त्री कोइरालाले संविधान जारी गरेपछि सरकारको नेतृत्वमा आफू नरहने भन्दै संविधान जारी गर्ने दिन धेरै टाढा नभएको पनि बताए ।
मुलुकमा लोकतान्त्रिक पद्धति बसाउन तथा लोकतान्त्रिक संविधान जारी गर्न आफू समर्पित रहेको स्पष्ट गर्दै उनले त्यस्तो संविधानबाट नै दिगो शान्ति र राजनीतिक स्थायित्व कायम भई देश विकासको बाटोमा अग्रसर हुने बताए ।
काँग्रेसकै केही समूह, नेकपा एमाले र एमाओवादीका नेताहरु सहमतिय सरकारका लागि छलफलमा जुटिरहँदा प्रधानमन्त्रीको यो भनाइले नयाँ तरंग ल्याइदिने संकेत देखिएको छ । काँग्रेसले कोइरालाकै नेतृत्वमा सहमतिय सरकार बनाउन आग्रह गरे पनि एमाले र एमाओवादी नेताहरु उनको विकल्पको खोजीमा छन् ।
















प्रतिक्रिया