
मकवानपुर, २५ साउन । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका इन्चार्ज रामेश्वर रानाले राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।
एमाले हेटौंडा उपमहानगर-५ को बैठकलाई सम्बोधन गर्दै नेता रानाले वर्तमान सरकार राष्ट्र, सुशासन, विकास र समृद्विको लागि प्रतिकुल रहेको भन्दै राष्ट्र र जनताको पक्षमा काम गर्नको लागि एमालेको सरकार आवश्यक रहेको बताएका हुन् ।
नेता रानाले पार्टी संगठनलाई वडा, टोलहुँदै जनतामा पुर्याउने पर्ने समेत बताए । नेता रानाले राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्न र मुलुकलाई समाजवादसम्म पुर्याउन एमाले बलियो पार्टी बन्नुपर्ने बताए ।
एमाले हेटौंडा-५ को बैठकले पार्टी सदस्यता, पार्टीको टोल तथा जनसंगठनको वडा, सबै पार्टी सदस्यलाई संगठित गर्ने, सामुदायिक तथा सामाजिक संस्था जनहित अनुकुल परिचालन गर्ने लगायत विषयमा निर्णय गरिएको वडा कमिटीका उपसचिव ईश्वरी चालिसेले बताए ।
वडा अध्यक्ष पदम बजगाईँको अध्यक्षतामा भएको बैठकमा एमाले बागमती प्रदेश कमिटीका सदस्यहरू हरिबहादुर महत, भोजराज ढकाल, जिल्ला सचिव नवीन सिग्देल, जिल्ला सदस्यहरू सुधिर थापा, सन्तोष पौडेल, जानकी चौधरी, सरस्वति दाहाल, जिल्ला वित्त तथा कोष व्यवस्थापन विभागका सचिव विनोद पुडासैनी, नगर अध्यक्ष शालिकराम पुडासैनी, सचिव बोलबहादुर कार्की, नगर सदस्यहरू ज्ञानु थापा, रन्जिता सिलवाल, भीमा गुरागाईँ, शिव थापा, रूपक महत लगायतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया