
काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुने बताएका छन् ।
पार्टी प्रचार प्रसार विभागको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याउनका लागि प्रधानमन्त्री प्रतिवद्ध रहेको भन्दै तथ्य र प्रमाणले पुष्टि भएमा पार्टीकै नेतामाथि पनि छानबिन र कारवाही हुने स्पष्ट पारेका हुन् ।
निर्दोष नफस्ने र दोषी कोही पनि नउम्कने गरी ठिक ढंगले अनुसन्धान गर्नका लागि सरकारले सुन तस्करी प्रकरणको छानविनको जिम्मेवारी सिआइबीलाई दिइएको उनले बताए ।
सापकोटाले सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण लगायतको अनुसन्धानलाई जनताले पनि हेरिरहेकाले तलमाथि गर्न नमिल्ने धारणा राखे ।
केन्द्रीय समिति बैठकमा सबैै सदस्यहरुले सुन तस्करी प्रकरणमा सरकारलाई सघाउने दृढता जनाएको उनको भनाइ छ । त्यस्तै प्रवक्ता सापकोटाले समाजवादी मोर्चाको गतिविधि केही सुस्त भएपनि मोर्चा लक्ष्यका साथ अघि बढ्ने बताए ।
उनले लगातार सदन अवरुद्ध हुँदा स्तर खस्किँदै गएपनि यसलाई सहज रुपमा अघि बढाउनका लागि सत्तापक्ष प्रतिवद्ध रहेको धारणा राखे ।















प्रतिक्रिया