विराटनगर (बरगाछी), १७ जेठ । छोराको हत्यामा विक्षिप्त भएका मोरङ रङ्गेलीका एक बाबुले पाँच वर्षसम्म छोराको अन्तिम कर्म गर्न सकेका छैनन् ।
रङ्गेली नगरपालिका–३ स्थित चोप्राहा घर भएका अमरलाल साहले आफ्ना १४ वर्षीय छोराको हत्या भएको पाँच वर्ष बितिसक्दा पनि वियोगको पीडामा छोराको किरिया गर्न नसकेका हुन् ।
विसं ०६७ साल चैत १८ गते अपहरणपछि हत्या गरिएको रहस्य ०७१ साल मङ्सिर ८ गतेपछि छिमेकीको ट्वाइलेटमा छोराको कङ्काल भेटिएपछि मानसिक रुपले ४२ वर्षीय अमर विक्षिप्त भएका छन् ।
अपहरणमा परेका छोरालाई खोजी गर्न साहले नेपाल र भारतका प्रहरी, राजनीतिक दलका नेता सबैलाई हारगुहार गरे पनि केही लागेन । उहाँले छोराको खोजीमा लाखौँ रुपैयाँ खर्च गर्नु भयोे ।
हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य दुई जना फरार छन् । दोषी तिनै जनालाई प्रहरीले वैशाखमा पक्राउ गरेको हो । छोराको बियोगमा अमरलालले दाह्री र कपालसमेत काटेका छैनन् । छोराको हत्यारालाई पक्राउ गरेकाले अब केही दिनपछि छोराको किरिया गर्ने उहाँले बताउनुभयो ।
एकमात्र छोराको हत्या भएपछि मानसिक रुपमा पीडित भएका अमरलालले छोराको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गर्नु भयो । रासस















प्रतिक्रिया