२९ आश्विन २०८३, बिहिबार

एमाले: उपाध्यक्ष थप्ने कि सचिव ? छलफल जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौँ, २० जेठ । नेकपा एमालेको आगामी महाधिवेशनबाट उपाध्यक्षको संख्या बढाउने कि सचिवको संख्या थप्ने भन्ने विषयमा छलफल जारी रहेको छ ।

राजधानीमा जारी केन्द्रीय कमिटीको मंगलबारको बैठकमा सोमबार प्रस्तुत भएको संगठनात्मक प्रस्तावमाथि छलफल भएको हो । आगामी असार १९–२५ गतेसम्म आयोजना हुने पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावमाथि छलफल भएको र बैठकमा बोल्ने अधिकांश सदस्यले समय सान्दर्भिकरुपमा पार्टीलाई अगाडि बढाउनुपर्ने सुझाव दिएको बैठकमा सहभागी पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।

महासचिव इश्वर पोखरेलले पेश गर्नुभएको संगठनात्मक प्रस्तावमाथि १३ जना सदस्यले सुझाव राखिसकेका छन् । सुझाव राख्ने सबैले पार्टीभित्रका कमी कमजोरीलाई विश्लेषण गरी सिंगो पार्टीको आर्थिक, सामाजिक परिर्वतनका लागि समयअनुसार नेतृत्वको सोच परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । महासचिव पोखरेलको कार्यपत्रमा पार्टीको समग्र सङ्गठनात्मक अवस्था, कमीकमजोरी र आगामी दिशाबारेमा विश्लेषणसहित प्रस्तुत गरिएको छ । उपाध्यक्षको संख्या साविकको तीनबाट बटाएर पाँच पुराउने कि सचिवको संख्या तीनबाट पाँच पुराउने भन्नेमा बैठकमा छलफल जारी छ । समावेशितालाई समेत ख्यालमा राख्दै एमाले नवौं महाधिवेशनबाट पदाधिकारीको संख्या थप्ने भएको छ ।

जेठ १४ गतेदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकले यसअघि नैै पार्टीका अध्यक्ष झलनाथ खनालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतिले पारित भइसकेको छ ।

त्यसैगरी, बैठकले आगामी असार ८ गते हुने संसदीय उपनिर्वाचनमा पार्टीको जितलाई सुनिश्चित बनाउन भन्दै चारवटै निर्वाचन क्षेत्रमा केन्द्रीय समूह परिचालन गर्ने समेत निर्णय गरेको छ । बैठक बुधबार १ बजे पुनः बस्नेछ ।