६ कार्तिक २०८३, शुक्रबार

भूकम्पको मानसिक तनाव हटाउन यसो गरौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mentalकाठमाडौँ, १७ जेठ । ठूलो भूकम्प र लगातारको पराकम्पनका कारण जनमानसमा परिरहेको मानसिक तनाव कम गर्न र विद्यालयका शिक्षकहरुलाई परामर्श दिन शनिबार वनस्थली बालाजुमा मनोउत्थान कार्यक्रमको आयोजना गरियो ।

सामुदायिक विकास सङ्घ, जीवन विज्ञान केन्द्र, लायन्स तथा लियो क्लब अफ बालाजु हाइट र सामुदायिक महिला जागरण मञ्चको संयुक्त तत्वावधानमा आयोजित सो कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दाको व्यापक सहभागिता रहेको थियो ।

कार्यक्रममा जीवन विज्ञान केन्द्रका गुरु रमेश नेपालले भूकम्पले क्षति गर्दैन, अव्यवस्थित मनले बढी क्षति गर्छ भन्दै विचलित भएको अवस्थामा मन सन्तुलित बनाउने सरल विधिहरु सिकाउनुभयो ।

विपद् व्यवस्थापन विज्ञ इन्जिनियर महेश नकर्मीले नेपाल भूकम्पीय क्षेत्रमा रहेकाले भूकम्पबाट पन्छिन सम्भव छैन, तर यसबाट हुने क्षतिबाट बच्न पूर्वतयारीमा ध्यान दिनुपर्छ भन्दै भूकम्पबाट क्षति नहुने घर निर्माणका आधारभूत प्रविधिबारे प्रकाश पार्नुभयो ।

पत्रकार तथा शिक्षक श्रीरामसिंह बस्नेतले विद्यालयमा शिक्षकहरुले अपनाउनुपर्ने भूकम्पीय सुरक्षा अवधारणाबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा ‘भद्रगोल’ हास्य टेली शृङ्खलाका अर्जुन घिमिरे (पाण्डे) लगायतका कलाकारले पैसाको बलमा जथाभावी घर बनाउनेहरु माथि व्यङ्ग्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा हालैको भूकम्पका कारण मृत्यु भएका आठ हजारभन्दा बढी मानिसको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । रासस