
काठमाडौं, १२ साउन । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।
दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । विधेयक प्रमाणीकरण भएसँग अब मिटरब्याजलाई अपराध मानिने छ ।
तर मिटर ब्याजबाट पीडितहरूले भने प्रमाणीकरण भएको विधेयक आजै जलाएका छन् । दुवै सदनले पास गरेको यो विधेयकले आफूहरुको माग पूरा नगरेको भन्दै मिटर ब्याज पीडितहरुको एक समूहले यो विधेयक जलाएका हुन् ।
यो कानूनले पनि आफूहरुको समस्या समाधान नगर्ने मिटर ब्याज पीडितहरुको भनाइ छ ।
हेरौँ शुक्रबार दिभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–
१. मिटरब्याज अब अपराध : राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण, मिटरब्याजलाई अब अपराध मानिने, विधेयकले आफ्ना माग पूरा नहुने भन्दै पीडितले भने आजै जलाए विधेयक ।
२. संस्कार राम्रो भएन : राजनीतिक उदेश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, राजीनामा दिने भए देउ नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको जिकिर ।
३. प्रचण्डले हिसाब बुझाएनन् : पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच एकता हुँदा एमालेको खाएको र हिसाब नबुझाएको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, एकता भनिएपनि वास्तविक एकता नभएको र प्रचण्डले आफ्नो पार्टीको बैठक गरेर पार्टी जीवितै राखिरहेको टिप्पणी ।
४. अबको मुख्यमन्त्री को ? : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङद्वारा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान, साउन १६ गते साँझ पाँच बजेसम्म दाबी पेश गरिसक्नुपर्ने ।
५. शोषक माली पक्राउ : पाँच लाख ऋण तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरेर पटक पटक बलात्कार गरेको आरोपमा ललितपुरको थेचोका सूर्जमान माली पक्राउ, पीडितले शुक्रबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएकी थिइन् व्यथा ।
६. बैठकमा कोरम नपुगेपछि… : कोरम नपुग्दा प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठक स्थगित, अर्को बैठक आइतबारका लागि डाकियो ।
७. हालसम्म एउटा मात्रै उजुरी : विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस ६ जना राजदूतहरूविरूद्व संसदीय सुनुवाई समितिमा एउटा मात्रै उजुरी, भोलिसम्म उजुरी दिने हदम्याद रहेपनि भोलि शनिबार परेकाले आइतबारसम्म उजुरी दिन पाउने ।
८. पक्राउ पर्ने भइन् अधिवक्ता : तामाङ समुदायको विवाहकाबारेमा दिएको अभिव्यक्तिपछि विवादित बनेकी अधिवक्त शीतल पाण्डेविरूद्व पक्राउ पुर्जी जारी, खोजी भइरहेको प्रहरीद्वारा जानकारी ।
९. पोखरेल पक्राउ : मध्यपहाडी लोकमार्ग आयोजनाको निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ, जाहेरी परेलगत्तै सम्पर्कविहीन बनेका पोखरेललाई काठमाडैंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीद्वारा जानकारी ।
१०. अस्पतालको लापरबाही : सर्वोच्च अदालतद्वारा एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा कान्ति बाल अस्पतालले ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश, एक बालकलाई लगाउन ठिक्क पारिएको खोप अर्के बालकलाई लगाइएको थियो ।
११. टाक्सफोर्स गठन : वायुसेवा सञ्चालक संघ नेपालद्वारा हवाई सुरक्षा अध्ययन समिति टाक्सफोर्स गठन, टाक्सफोर्समा यज्ञप्रसाद गौतम, क्याप्टेन हिराबाबु दाहाल, नारायणबहादुर सिंह डंगोल र रवि कंसाकार ।
१२. भ्यान दुर्घटना हुँदा… : काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको भ्यान चन्द्रागिरि नगरपालिका ४ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु, मृत्यु हुनेमा चालक सिन्धुलीका २० वर्षीय नवराज थोकर र ४५ वर्षीय अनिल तामाङ, तीनजना घाइते ।
१३. पोलिथिन झोला निषेध अभियान : काठमाडौं महानगरपालिकाले ४० माइक्रोन भन्दा पातला पोलिथिन झोला प्रयोगमा निषेध गर्ने अभियान थाल्यो, पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइएको भए जफत गरिने ।
१४. सुचीलाई सरकारी भवनमा सारियो : सन २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो, तल्लो सदनका सभामुख ति खुन म्याटसँग गरिन् भेटवार्ता ।
१५. टोली घोषणा : चीनको हान्झोउमा हुने १९ औँ एसियाली खेलकुदको लागि नेपाली पुरूष क्रिकेट टोलीको घोषणा, टोलीमा विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादवको पुनरागमन ।















प्रतिक्रिया