
काठमाडौं, ८ साउन । नेकपा (एमाले)को सामाजिक सेवा विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले पाएका छन् ।
विभागको आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकमा उनलाई निवर्तमान विभाग प्रमुख पार्टीका पोलिटव्युरो सदस्य पार्वत गुरुङले माइन्युट र विभागका दस्तावेज हस्तान्तरण गरे । निवर्तमान प्रमुख गुरुङले विभागले विगतमा सामाजिक क्षेत्रमा गरेका कामहरूबारे संक्षिप्त जानकारी गराएका थिए ।
बैठकमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीले सामाजिक क्षेत्रको अगुवाइ गर्दै घरघर पुगेर जनताको सेवा गर्नुपर्ने बताएकी छन् । बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै सामाजिक क्षेत्र क्लष्टरका संयोजक शाक्यले सामाजिक क्षेत्रमा पार्टी कामका लागि विभागले नीति निर्माणको काममा गृहकार्य गरी सहयोग गर्नुपर्ने बताइन् ।
बैठकमा स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ पनि उपस्थित थिए । बैठकमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा उनको तस्वीरमा माल्यार्पण गरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको थियो ।











प्रतिक्रिया