रत्ननगर (चितवन), १६ जेठ । चितवनको विकट कोराक गाविसमा गरिएको एक अध्ययनमा ६८ प्रजातिका पुतली फेला परेको छ ।
नेपालमै पहिलो पटक यहाँको विकट कोराक गाविसमा सञ्चालन भएको ग्रिन स्कुल परियोजनाको आर्थिक सहयोगमा कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौँडाकी विद्यार्थी सिर्जना बरालले गरेको अध्ययनमा यस्तो पाइएको हो ।
दुई महिना लगाएर यहाँ पुतलीको अध्ययन गरिएको बरालले बताउनुभयो । पुतलीको महत्व धेरै भए पनि संरक्षणको प्रयास हुन नसकेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
हाल १२ प्रजातिका पुतली लोपोन्मुख अवस्थामा छन् । ४३ प्रजातिका पुतली सङ्कटापन्न रहेको तथ्याङ्क छ । प्रकृतिका साथीहरु संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले अहिलेसम्म नेपालमा पुतली र मानव सम्बन्ध जोडेर अध्ययन हुन नसकेको बताउनुभयो । यो नै पहिलो अध्ययन हुन सक्ने उहाँको दाबी छ ।
उहाँले पुतलीको महत्वबारे प्रकाश पार्न र यसको अवस्था बुझ्न पुतलीको अध्ययन गरिएको बताउनुभयो । सरकारले पनि पुतलीलाई प्राथमिकतामा राखेर संरक्षण गर्न नसकेको उहाँको जिकिर छ ।
चितवनको पहाडी गाविसमा मात्रै विश्वमा पाइने १५ प्रजातिमध्ये १० प्रजातिका पुतली पाइने कोराकमा गरिएको उक्त पुतली सर्वेक्षणले देखाएको छ ।
प्रकृतिका साथीहरु संस्थाद्वारा सञ्चालित ग्रिन स्कुल परियोजनाले प्रारम्भिक प्रतिवेदनबारे जानकारी दिँदै छिट्टै अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।
अनुसन्धानकर्ता बरालले कोराकका स्थानीयमा पुतलीले बाली बिगार्छ भन्ने गलत धारणा रहेको बताउनुभयो ।
नेपालमा पाइने कुल प्रजातिमध्ये १०.४६ प्रतिशत पुतली सो क्षेत्रमा पाइने हुनाले पुतली संरक्षण कार्य अगाडि बढाउनु जरुरी रहेको निर्देशक आचार्यले बताउनुभयो । नेपालमा कुल ६५१ प्रजातिका पुतली पाइन्छन् । पुतली मानिसलाई कुनै पनि असर नगर्ने जीव हो । रासस
















प्रतिक्रिया