६ कार्तिक २०८३, शुक्रबार

असारे विकासको विकल्प खोज्न जरूरी छ: प्रधानमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् ।

बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ। विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु।’’

प्रधानमन्त्रीले नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सवका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इन्जिनियर/आर्किटेक्टहरूमा हार्दिक बधाइसहित शुभकामना पनि दिए ।

मानव जीवनलाई सहज बनाउने विधि, प्रविधि र प्रणालीको खोजी गरी तिनलाई कार्यान्वयनमा ल्याउने इञ्जिनियरहरू देश निर्माणका महत्वपूर्ण खम्बा भएको प्रधानमन्त्रीको धारणा छ ।

राजनीतिक क्षेत्रबाट जनताको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन आफूहरू प्रयासरत रहेको पनि प्रचण्डले बताए ।