
चितवन, २७ असार । नेपालको सफल शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रिय उपाध्यक्षको लागि आफ्नो उम्मेदवार घोषणा गरेका छन् ।
यही असार ३० गते काठमाडौंमा हुने इक्यानको केन्द्रिय अधिवेशनमा पौडेलले उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् । विगत २० वर्षदेखि निरन्तर शैक्षिक परामर्श व्यवसायमार्फत विद्यार्थीलाई विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि सेवा दिँदै आएका सफल व्यवसायी पौडेल सामाजिक र खेलकुद क्षेत्रमा समेत सक्रिय छन्।
उनको शैक्षिक संस्था सेन्ट्रल कलेजले नारायणगढको शहिदचोक प्रेसमार्गस्थित केन्द्रीय कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । कलेजले जापान र कोरियामा पनि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ भने देशका विभिन्न शहरहरुमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।
उनि इक्यानको पूर्व केन्द्रिय सदस्य समेत भएर काम गरिसकेका छन् । पौडेल यसपटक स्वतन्त्र रुपमा केन्द्रीय उपाध्यक्षको उम्मेदवार बन्न लागेका हुन् । उनि यसअघि केन्द्रीय सदस्यमा पनि अत्याधिक मतले विजयी भएका थिए । इक्यानमा मतदान मार्फत केन्द्रिय सदस्यमा निर्वाचित हुने चितवनबाट पहिलो र एकमात्र व्याक्ति हुन् पौडेल ।
इक्यानको सहयोगी तथा सल्लाहकारको रुपमा उनले अहिलेपनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनि विभागिय सदस्य हुँदै इक्यानको वोर्डमा प्रवेश गरेका थिए । इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि उपाध्यक्ष पदमा आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए ।
शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान र यो व्यवसायलाई मर्यादित बनाउनका लागि आफ्नो भूमिका रहने उनले स्पष्ट पारे ।















प्रतिक्रिया