६ कार्तिक २०८३, शुक्रबार

एमालेको पुनर्निर्माण अभियान जारी, एक हजार घर निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml (2)

काठमाडौं, १५ जेठ । नेकपा एमालेद्वारा सञ्चालित राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको पाँचौं दिन शुक्रबार देशका २५ जिल्लामा पुनर्निर्माणको काम जारी छ ।

२५ जिल्लाका ७२ निर्वाचन क्षेत्रहरुमा सक्रियका साथ एमालेका स्वयंसेवकले अभियान अन्तर्गत पुनर्निर्माणको कामलाई निरन्तर अगाडी बढाइरहेको अभियानका संयोजक गोकर्ण विष्टले जनाकारी दिनुभयो । उहाँका अनुसार अभियानको पाँचौ दिनसम्म २५ जिल्लामा एक हजार भन्दा बढी घर निर्माण गरिएका छन् ।

भूकम्प पीडितको घर टहरा निर्माणका लागि एमालेले प्रभावित जिल्लामा जेठ १० गतेदेखि स्वयमसेवक परिचालन गरेको थियो । पाँचौ दिनको कार्य सम्पादन बारे एमालेले जारी गरेको विज्ञप्ती यसप्रकार छ । पढ्नुहोस जस्ताको तेस्तै ।

प्रेस नोट

नेकपा (एमाले)द्वारा सञ्चालित राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको पाँचौं दिन आज देशका २५ जिल्लाका ७२ निर्वाचन क्षेत्रहरुमा सक्रियका साथ देहायबमोजिम कार्यसम्पादन गरिएको छ ः

१. पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अभियानका संयोजक कमरेड गोकर्ण विष्टले काठमाडौं–४ चुन्नीखेलमा भइरहेको निर्माण÷पुनःनिर्माण कार्यको अनुगमन गर्नुभयो । पोलिट्ब्युरो सदस्य थममाया थापाको नेतृत्वमा अखिल नेपाल महिला संघका स्वयंसेवकहरु तथा केन्द्रीय सदस्य डा. राजन भट्टराईको संयोजनमा भूगोलका स्वयंसेवकहरु सम्मिलित रहेको उक्त क्षेत्रमा व्यापक सक्रियता र उत्साहका साथ धराप भत्काउने, उद्धार गर्ने र अस्थायी घर बनाउने काम भएको छ । स्थानीय वासिन्दाहरुका लागि यहाँ महिला स्वयंसेवकहरुको सक्रियता उल्लेख्य दृष्टान्त रहेको छ ।
२. पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले काष्ठमण्डप र बसन्तपुर दरबार स्वाक्यर क्षेत्रमा भत्किएका संरचना व्यवस्थापनको नेतृत्व गर्नुभयो । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालको नेतृत्वमा पर्यटन क्षेत्रका ५० जना स्वयंसेवकहरु तथा काठमाडौं–८ मा कर्णाली र भेरी अञ्चल सम्पर्क कमिटीका तर्फबाट क्रियाशील स्वयंसेवकहरुसमेतको संयुक्त टोली ऐतिहासिक सम्पदा काष्ठमण्डप र बसन्तपुर क्षेत्रमा सक्रिय रह्यो । उक्त अवसरमा पूर्व प्रधानमन्त्री खनालले ‘धराहरा ढले पनि नेपालीहरुको स्वाभिमान उचो रहेको तथा मन्दिरहरु हल्लिए पनि मान्छेका मनहरु नहल्लिएको स्पष्ट गर्दै ऐतिहासिक पुरातात्विक र विश्व सम्पदा सूचीमा रहेका पर्यटकीय क्षेत्रहरुको निर्माण नेपाल सरकार र नेपाली आफंैले राष्ट्रिय–अन्तर्राष्ट्रिय सहयोगमा गर्ने दृढता व्यक्त गर्नुभयो । सो अवसरमा पार्टी केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ लगायतका नेताहरुको पनि सक्रियता थियो ।
३. काभे्र जिल्लाका चारवटै क्षेत्रमा खटिने स्वयंसेवकहरुलाई बनेपामा आयोजित विशेष कार्यक्रमका साथ पार्टी उपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीले विदाई गर्नुभएको छ । सो अवसरमा पार्टी नेताहरु विष्णु रिमाल, इश्वरी रिजाल, भगवती चौधरी, काभे्रका काबा अध्यक्ष रामहरी सुवेदी, पूर्व अध्यक्ष गोकुल बाँस्कोटा, पार्टीका जिल्ला सचिव अशोक ब्याञ्जु लगायतले अभियानका बारेमा प्रकाश पार्नुभयो ।
स्वयंसेवकहरुका टोली आजै सम्बन्धित गाउँमा पुगिसकेका छन् । क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य इश्वरी रिजालको नेतृत्वमा जिल्लाबाट संग्रामजित लामा र बुद्धसिं तामाङसहितको टोली बिर्तादेउराली र सस्र्यूखर्क गाविसमा पुगेको छ । क्षेत्र नम्वर २ मा केन्द्रीय सदस्य भगवती चौधरी, जिल्ला अध्यक्ष रामहरी सुवेदी र रामकृष्ण हुमागाईको नेतृत्वमा टोली काशिखण्ड नगरपालिकाका वडा नम्वर १, २ र ३ मा पुगेको छ । क्षेत्र नम्बर ३ मा नयाँगाउँ देउपुर र गैह्रिविसौना देउपुरमा पोलिटब्युरो सदस्य युवराज कार्कीको नेतृत्वमा पूर्व अध्यक्ष गोकुल बाँस्कोटा र सुरेश हुमागाईको टोली पुगेको छ भने क्षेत्र नम्वर ४ मा केन्द्रीय अनुशासन आयोगका सदस्य शिवबहादुर देउजाको नेतृत्वमा विदुर सापकोटा र मानबहादुर तामाङको टोली मण्डन क्षेत्र, पाँचखाल, साठीघर, कोशिदेखा, फलाँटे, धुलिखेल, रविओपी, देविटार, खरेलथोकलगायतका क्षेत्रमा खटिनेछ । टोलीमा युवा, विद्यार्थी, महिला, मजदुर कमिटीहरुबाट कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
४. रसुवाका अनुगमनकर्ता तथा पार्टी उपाध्यक्ष कमरेड भीम रावलले रसुवाको भोर्लेटार लामाचेप र सदरमुकमा धुञ्चेको स्थलगत अवलोकन गरी स्वयमसेवकहरुले गरेका् कामको जानकारी लिनुभयो । उहाँले सेतीदेवी उमावि धुसेनी, ज्वालामुखी निमावि चिती र तुप्चेश्वरी निमावि खाल्चेपको स्थलगत निरीक्षण गर्दै स्वयमसेवकहरुसँग अन्तक्रिया पनि गर्नुभयो । उहाले विपदको सामान सवै मिलेर गर्नुपर्नेमा जोड दिदै नेपाली सेनाले पुनःनिर्माण कार्यमा स्वयमसेवक टोलीहरुलाई गरेको सहयोगको स्वागत र प्रशंशा पनि गर्नुभयो । उहाँले धुञ्चेमा निजामति प्रशासन तथा सुरक्षा निकायसँग भूकम्पको क्षति, उद्धार तथा नवनिर्माण कार्यमा केन्द्रीत भई छलफलसमेत गर्नुभयो । हालसम्म रसुवामा ७ वटा स्कुलको भग्नावशेष हटाई तीन वटा स्कुलका लागि टहरा र २४ वटा व्यक्तिगत आवासका लागि अस्थायी घर निर्माण गरिसकिएको छ ।

३. काठमाडौं क्षेत्र नं. ७ मा सम्पर्क समन्वय कमिटीका स्वयंसेवकहरुले नागार्जुन नगरपालिका (पुरानो ईचंगुनारायण)मा गरिरहेको घर–टहरा निर्माण कार्यको पार्टीका सचिव तथा राष्ट्रिय स्वयंसेवक परिचालन अभियानका संयोजक कमरेड गोकर्ण विष्टको नेतृत्वमा सचिवालय सदस्यहरु सूर्य थापा, ठाकुर गैरे र विजय गुरुङको नेतृत्वमा अनुगमन गरियो । जनकपुर, गण्डकी र सेती अञ्चल सम्पर्क कमिटीका स्वयंसेवकहरुले स्थानीय पार्टी नेताहरुको समन्वयमा यहाँ नयाँ निर्माण कार्यलाई तीव्र गतिका साथ सम्पन्न गरिरहनुभएको छ । क्षेत्र नं ७ मा परिचालित टोलीले ईचंगुनारायणमा ११ वटा घर भत्काएर अस्थायी टहारा निर्माण गरेको छ । काठामाडौं महानगरपालिका २८ मा रहेको कन्या मन्दिर उच्च मावि र श्रीकृष्ण मन्दिर प्राविको अस्थायी टहरा बनाइएको छ । यो क्षेत्रका विभिन्न ठाउँमा ४७ वटा भग्नावशेष हटाई ३९ वटा अस्थायी घर निर्माण कार्य पूरा भएको छ ।
४. लमजुङमा पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीले जिल्लामा खटिने स्वयंसेवकहरुका दुई छुट्टाछुट्टै टोलीलाई विशेष कार्यक्रमका साथ सदरमुकाम बेसीसहरबाट विदाई गर्नुभएको छ । सभासद्हरु जमिन्द्रमान घले र डा. भीष्मनाथ अधिकारीले गरेर २०० जना स्वयंसेवकहरुका अलग–अलग टोलीको संयोजन गरी कार्य क्षेत्रमा खटिनुभएको छ ।
सिन्धुपाल्चोकः क्षेत्र नं १ मा खटिएर नवनिर्माण कार्यमा संलग्न हुन युवासंघ नेपालका सचिव बच्चन सिंहको नेतृत्वमा ५० जना स्वयंसेवकहरुको टोलीलाई आज पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुबाट विदाई गरिएको छ । पार्टी सचिव तथा अभियानका संयोजक गोकर्ण विष्ट, स्थायी समिति सदस्य शंकर पोखरेल र केन्द्रीय सदस्य तथा युवा इन्चार्ज शेरधन राईले टोलीलाई विदाई गर्दै गहन जिम्मेवारीबोध तथा लगनशीलढंगले जनसेवामा जुट्न र जनतालाई ठोस मद्दतको अनुभूति गराउन निर्देशित गर्नुभयो ।
क्षेत्र नं २ मा सर्वसुधार प्रावि सुन्दरीपुरको भवन, सिपापोखरेका राजेश्वरी उच्च मावि भवन र पाँचपोखरी बहुमुखी क्याम्पसका भत्किएका भवन हटाई नयाँ अस्थायी घर बनाउने काम भएको छ ।
ललितपुरः क्षेत्र नं २ को लुभु बजार, इमाडोल र लामाटारमा पेशागत महासंघका स्वयमसेवकहरु काममा जुटेका छन् । पार्टीका पुराना नेता सिद्धिलाल सिंहसमेत युवा जोसका साथ कार्यस्थलमा क्रियाशील रहनुभयो । टोलीले दश वटा भवन भत्काएर पुरिएका सामान निकाल्नुका साथै एउटा नयाँ घर निर्माण गरेको छ ।
क्षेत्र नं ३ को बुङमतीमा ६ वटा पुराना घर भत्काइएको छ । चार वटा बाटो खोलिएको छ र तीन वटा अस्थायी घर निर्माण गरिएको छ ।
काठमाडौं ः क्षेत्र नं १० मा चन्द्रगिरी नगरपालिका बोसीगाउँमा परिचालन भएको १ सय जनाको टीमले चार वटा चर्किएका घर भत्काएर सफाई गरेको छ भने कीर्तिपुर नगरपालिका ३ मा तीन वटा घर भत्काई सफा गरिएको छ । त्यस्तै ८७ बर्षिया बृद्धा महिलाको लागि एउटा टहरो निर्माण गरिएको छ ।
काठमाडौं ५ को टोखा र बुढानिलकण्ठमा १७ वटा घरको व्यवस्थापन गरी दुई वटा टहरा निर्माण गरिएको छ ।
क्षेत्र नं ९ चन्द्रागिरी नपा र पुरानो दहचोक वडा नं १ र २ मा कालीबहादुर थापाको अस्थायी घर निर्माण गरिएको छ । भाइको मृत्यु भएकोमा किरियासमेत गर्न नसकेको अवस्थामा रहनुभएका उहाँले नयाँ अस्थायी घरमा किरिया सुरु गर्नुभएको छ । पेशागत महासंघका दुई सय स्वयम्सेवक परिचालन भएको यो क्षेत्रमा २२ वटा जीर्ण घर भत्काई ४ वटा नयाँ निर्माण गरिएको छ ।
भक्तपुरः क्षेत्र नं १ मा परिचालन भएको टोलीले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरको सफाई गरेको छ । चागुनारायण नपा ११ मा अपाङ्गता भएका श्याम खनालसहितका लागि ९ वटा अस्थायी घर निर्माण गरिएको छ ।
क्षेत्र २ मा अनन्त लिङ्गेश्वर नपा बालकोटस्थित महेन्द्र शान्ति माविको भग्नावशेष हटाउने काम भएको छ ।
गोरखाः गोरखाको धावा गाविसमा रहेको अलैचे माविको चार कोठा अस्थाइ भवन निर्माण गरिएको छ । पालज्योति भगवती माविको भवन निर्माण सुरु गरिएको छ । गाईखुरस्थित लक्ष्मी उच्च मावि, नारेश्वरमा रहेको राष्ट्रिय माविको पाँच कोठे अस्थाइ भवनसमेत निर्माण गरिएको छ । केराबारी गाविसमा १२ वटा अस्थायी घर निर्माण गरिएको छ ।
ओखलढुंगाः क्षेत्र नं १ मा परमेश्वर घिमिरेको नेतृत्वमा उदयपुरबबाट गएको टोलीले रागादीप माविको ६ कोठा अस्थायी भवन निर्माण गरेको छ । जेसे माविको भवनबाट भग्नावशेष हटाइएको छ भने एकल महिलाहरुका लागि २ वटा अस्थायी घर निर्माण गरिएको छ । कालिका उच्च मावि भालुथुप्का श्रीचौरको भग्नावशेष हटाइएको छ । साथै, सोही ठाउँमा रहेको स्वास्थ्य चौकीको भग्नावशेष हटाएर संचालनयोग्य बनाइएको छ । पात्ले गाविसमा बृद्धबृद्धाका लागि अस्थायी घर निर्माण गरिएको छ ।
क्षेत्र नं २ को कटुञ्जे ककनीमा पुगेका उदयपुरका जिल्ला अध्यक्ष ईश्वरमणि राउत नेतृत्वको टोलीले दुईवटा घरको भग्नावशेष हटाएको छ । साथै, उदयपुर जिल्ला कमिटीबाट ७२ जनालाई प्रत्येक परिवार एक बोराका दरले चामल पनि बितरण गरेको छ । हालसम्म यहाँ ७२ वटा घरका भग्नावशेष हटाइसकिएको छ ।
पार्टी केन्द्रीय प्रचार विभागले आज ११ सदस्यीय अभियान प्रचार समिति गठन गरेको छ । उक्त समितिमा प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा र सदस्यहरु राजेन्द्र अर्याल, प्रमोद दाहाल, गगन विष्ट, विष्णु रिजाल, गणेश बस्नेत, माधव नेपाल, श्रीप्रसाद आचार्य र सुवास खतिवडा रहनुभएको छ ।
सूर्य थापा
उपप्रमुख
केन्द्रीय प्रचार विभाग