
काठमाडौं, २६ असार । भक्तपुरको मध्यपुर थिमिमा १५० शैयाको अस्पताल स्थापना गर्न गणतन्त्र कोरियाले ९ दशमलव ५ मिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ ।
भक्तपुरका विपन्न वर्गहरूका लागि स्वास्थ्य सेवाको सहज पहुँचका लागि अस्पताल स्थापना गर्ने परियोजना सम्बन्धी समझदारी पत्रमा मंगलबार अर्थमन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत पार्क ते–योङले हस्ताक्षर गरेका हुन् ।
सार्वजनिक स्वास्थ्य वीमा लक्ष्यका साथ कोरिया अन्तराष्ट्रिय सहयोग निकाय (कोइका) मार्फत २०२७ सम्ममा पूरा हुने आयोजनाका लागि ९ दशमलव ५ मिलियन अमेरिकी डलर खर्च गरिने बताइएको छ ।
परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंगको सहकार्य र समन्वयमा कोईका, मध्यपुर नगरपालिका र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्ने अर्थ मन्त्रालयले जनाएको छ । सम्झौता अनुसार कोइकाले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैयाको अस्पताल निर्मण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने उल्लेख छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थमन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले दुईदेशबीचको सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कृतज्ञता व्यक्त गर्दै यस आयोजनालाई सफल कार्यान्वयनका लागि सहयोग गर्ने बताए ।
त्यस्तै कोरियाली राजदूतावासका राजदूत पार्क ते–योङले यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गरे । उनले नेपाल र कोरियाबीचको दुईपक्षिय कूटनीतिक सम्बन्धको ५० औं बर्षगाठ मनाउन इच्छकु भएको बताए ।















प्रतिक्रिया