६ कार्तिक २०८३, शुक्रबार

विपद्का बेला नकारात्मक समाचार सम्प्रेषण गर्नेलाई कारबाही गरिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Borna_b_Karki

काठमाडौँ, १५ जेठ । नेपाल प्रेस काउन्सिलले विपद्का बेला बद्नियतपूर्ण तरिकाले समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने भएको छ ।

नेपाल पत्रकार महासङ्घ ललितपुरको आयोजनामा आज भएको ‘विपद् व्यवस्थापनमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले विगत एक महिनामा सञ्चारमाध्यमहरुले प्रकाशन, प्रसारण गरेका समाचारको अनुगमन गर्न लागेको जानकारी दिँदै नियतवश सस्तो प्रचारका लागि गलत समाचार सम्प्रेषण गरेको भेटिएमा कारबाही गर्ने बताउनुभयो ।

राष्ट्रिय विपद्का बेला सबैभन्दा उत्तरदायी भएर मिडियाले काम गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो– “काठमाडौँमा भत्केका घर र मृत्यु भएकाको मात्र दृश्य टेलिभिजनले सम्प्रेषण गरेकाले यसले विदेशमा बस्नेलाई गलत सन्देश गएको छ ।”

उहाँले अबको मिडियाको भूमिका पुनःनिर्माणतिर हुनुपर्ने बताउँदै विपत्तिका कारण जनताको गिरेको मनोबल उठाउने खालका कार्य गर्न मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका सचिव धर्मेन्द्र कर्णले विपद् व्यवस्थापनका लागि सञ्चारकर्मीको भूमिका के हुन सक्छ भन्ने विस्तृत योजना नभएकाले समाचार सन्तुलित हुन नसकेको बताउनुभयो ।

क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले विपद्का बेला कस्ता समाचारका सामग्री प्रकाशन, प्रसारण गर्ने ज्ञान नभए पनि ज्यानको प्रवाह नगरी कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीको प्रशंसा गर्नुभयो ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले सञ्चारमाध्यमले विपद्का बेला अनुगमन, सूचना प्रवाह र खबरदारी गर्ने कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा पत्रकार विश्वमणि पोखरेलले ‘प्रकोपबीच हामीः हाम्रो जिम्मेवारी’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रकोपमा काम गर्ने निकायको गठन गर्नुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घका उपत्यका संयोजक ईश्वरी वाग्ले, प्रेस चौतारीका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिना, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्मालगायतले विपद्का बेला सञ्चारकर्मीले धैर्यताका साथ काम गर्दै सकारात्मक प्रभाव पार्ने समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । रासस