
काठमाडौं, ६ असार । परराष्ट्रमन्त्री एनपी साउदले राहदानी वितरण कार्यलाई थप सहज बनाउने प्रयास भइरहेको बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले समयमा नै राहदानी छपाई प्रक्रिया अघि बढाएर सहज रूपमा राहदानी वितरण गर्ने प्रयास भइरहेको जानकारी दिएका हुन् ।
उनले मासिक औसत १ लाख २० हजार राहदानी वितरण भइरहेको र अहिले चार महिनाका लागि पुग्ने राहदानी मौज्दात रहेको जानकारी दिए । ५० लाख राहदानी छाप्नका लागि टेन्डर भएपनि सरकार आफैँले छाप्ने भनेर २० लाख मात्रै छापिएको अवस्थामा सुरक्षण मुद्रण प्रेसको विवादका कारण राहदानी छाप्ने कार्य रोकिएको उनले बताए ।
अन्तर्राष्ट्रिय मापदण्ड कार्यविधि भित्र रहेर सुरक्षित रुपमा छाप्नुपर्ने भएकाले छपाई प्रक्रियामा केही समय लाग्ने मन्त्री साउदको भनाइ छ । त्यस्तै मन्त्री साउदले अर्थ मन्त्रालयबाट ओएनएम सर्वेका लागि सहमति लिएको भएपनि कर्मचारी संख्या नबढ्ने गरी सर्वे गर्नु भनेपछि समस्या भएको बताए ।
बैठकमा समिति सदस्यहरुले राहदानी वितरणमा हुनेगरेको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले राहदानीको छपाईको प्रक्रियामा समयको ध्यान दिन सुझाव दिए । ठेक्का पट्टामा मूल्यबृद्धि गर्ने काम हुने भएकाले समयमा नै छपाइ गरे मूल्य कम हुन सक्नेतर्फ ध्यान दिन नेपालले आग्रह गरे ।
उनले राहदानी वितरणमा बिचौलियाको प्रभावलाई अन्त्य गर्नुपर्ने धारणा राखे । त्यस्तै समिति सदस्य बर्षमान पुनले राहदानीका बारेमा आवश्यक जानकारी जनतालाई दिनुपर्ने धारणा राखे ।
५० लाख राहदानी छाप्नका लागि टेन्डर हुँदा पनि २० लाख छापिँदा राहदानीको अभाव हुने अवस्था पैदा भएको भन्दै पुनले सरकारका तर्फबाट बेलैमा उचित व्यवस्था गर्नुपर्ने धारणा राखे ।















प्रतिक्रिया