– सुदीप अधिकारी
बर्दिया, १३ जेठ । केही दिनयता बाँके र बर्दियामा लू (तातो हावा) चल्न सुरु भएको छ । प्रचण्ड गर्मीसँगै लू चल्न थालेयता बाँके, बर्दिया लगायतका तराईको जनजीवन असामान्य बन्दै गएको छ ।
अहिले यहाँको तापक्रम ४० देखी ४२ डिग्री सेल्सियसको आसपास रहेको छ । दिउँसो लू चल्न थालेपछि यहाँका मानिस अत्यावश्यक काममा बाहेक दिउँसो बाहिर निस्कन छाडेका छन् । अत्याधिक गर्मी भएपछि दिउँसोमा बजार पनि सुनसान हुने गरेको छ । साझ र विहान मात्र मानिस किनमेलका लागि बजार जाने गरेका छन् ।
गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ । बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । लू चल्दा मजदुरी गरेर खानेहरुलाई निकै सास्ती भएको छ । वैशाखको तेस्रो सातादेखि ह्वात्तै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् । गर्मीका कारण बाँक,े बर्दियाका विभिन्न अस्पतालमा दैनिक सरदर ३० देखि ४० जना विभिन्न सरुवा रोगका बिरामी उपचारका लागि आउने गरेका छन् ।
लू को चपेटामा परेका यहाँका जनतालाई लोडसेडिग र लो भोल्टेजले झनै सास्ती थपेको छ । लो भोल्टेजका कारण पंखा नचल्दा गर्मीले उकुसमुकुस बनाएको स्थानिय प्रदिप भण्डारीले बताए ।
















प्रतिक्रिया