
काठमाडौं, २१ जेठ । डेंगु रोगको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरी सरकारलाई निर्देशन दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
सो पार्टीका सांसद विराजभक्त श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
डेंगु एक मानिसबाट अर्को मानिसमा सर्ने भएको र यसले महामारीको रुप लिएको खण्डमा धनजनको अपूरणीय क्षति हुन सक्ने सम्भावनालाई यस वर्षको वर्षायाम सुरु हुनुअगावै यसको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरी सरकारलाई निर्देशन दिनका लागि श्रेष्ठले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई डेंगु जोखिमको सूचीमा राखेको उल्लेख गर्दै पूर्वतयारी गर्नुपर्नेलगायत विषय समावेश गरी संकल्प प्रस्ताव दर्ता गरिएको श्रेष्ठले जानकारी दिनुभयो । उनले रोग सार्ने लामखुट्टे नियन्त्रण कार्यको लागि जनस्वास्थ्य निरीक्षकहरुलाई देशभर परिचालन गर्ने, गरीव विपन्न र पिछडिएको समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गर्न निर्देशन दिनुपर्ने बताए ।
उनले उपचारको लागि विद्यमान अस्पताहरुको क्षमता वृद्धि गर्नुपर्ने, रोग नियन्त्रणका स्थानीय तहहरुलाई उनीहरुको उत्तरदायित्व र जिम्मेवारी बोध गराउने कार्यक्रम ल्याउन माग गरेका छन् ।













प्रतिक्रिया