
काठमाडौं, १९ जेठ । सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधिन भवनको बिहीबार स्थलगत अवलोकन गर्ने क्रममा उनले निर्माणका लागि अनुकूल वातावरण रहेको बेला काममा ढिलाई नगर्न निर्देशन दिए ।
उनले भने, ‘अब यस भवन निर्माणले गति लिन्छ, लिनुपर्छ । हिजोको प्रतिकूलता आज अनुकूलतमा परिवर्तन भएको छ । निर्माणका लागि पेमेन्ट, एलसी खुल्नेदेखि सामानको अर्डर गर्ने अनुकूलत वातावरण बनेको छ । यस कारण पनि निर्धारित समयमै निर्माण हुनुपर्छ ।’
अवलोकनका क्रममा सहरी विकासमन्त्री सीता गुरुङले निर्धारित समयमा निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताइन् । उनले भनिन्, ‘हामी हिउँदे अधिवेशन यहीबाट सुरुआत गर्नुपर्छ भन्ने अठोटका साथ यहा म आएपछि निरन्तर फलो गरिरहेको छु । म्याद थप गर्ने रहर छैन, समस्याको समाधान हैन ।’
मन्त्री गुरुङले निर्माण कम्पनीलाई आवश्यक जनशक्ति थपेर कामलाई तीव्र गति दिनसमेत निर्देशन दिइन् । उनले मन्त्रालयबाट भुक्तानी र नीतिगत कुरामा कमीकमजोरीलाई भए आवश्यकताअनुसार निर्णय गर्न तयार रहेको बताइन् । यस्तै, उपसभामुख इन्दिरा रानाले पनि निर्धारित समयमा अनिवार्यरुपमा निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताइन् ।











प्रतिक्रिया