२९ कार्तिक २०८३, आइतबार

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोलीमा सोमपाल कामी परे, परेनन् रोहित पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाली क्रिकेट टोली घोषणा भएसँगै टोलीलाई लिएर सामाजिक सञ्जालमा चर्चा र आलोचना सुरु भएको छ ।

विशेषगरी अनुभवी खेलाडी सोमपाल कामी टोलीमा पर्दा पूर्वकप्तान रोहित पौडेल भने परेका छैनन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा सोमपाल समावेश छन् तर, टोलीका पूर्वकप्तान समेत रहेका रोहितलाई भने टोलीमा स्थान दिइएको छैन ।

टोली छनोटप्रति असन्तुष्टि जनाउँदै क्रिकेटप्रेमीहरूले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् ।

केही प्रयोगकर्ताले सोमपाललाई राइजिङ स्टार्स प्रतियोगिताका लागि छनोट गरिएकोप्रति व्यङ्ग्य समेत गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘सोमपाल कामी उदाउँदो तारा ? १२ वर्षअघि विश्वकप खेलेका सोमपाल कामी उदाउँदा खेलाडी कसरी ? तर टोलीमा रोहित पौडेल किन छैनन् ?’

नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।

टोलीमा सन्दीपसहित बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, ईशान पाण्डे, रासिद खान र देव खनाल रहेका छन् ।

नोभेम्बर १९ देखि २९ सम्म कतारको दोहामा हुने प्रतियोगितामा आठ टोली सहभागी हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ ।

नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छ । समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छ ।

नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ ।

दुवै समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर २९ मा हुनेछ ।