
काठमाडौं, १८ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिक मंगलबार भएको सवारी दुर्घटनामा रक्षा तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका सवारी चालक सुवास अधिकारीको मृत्यु भएको खुलेको छ ।
दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी माइली बुहारी सञ्जु खाती खड्काको मृत्यु भएपनि सशस्त्रका हवल्दार सुवासको मृत्युको घटनालाई भने गुपचुप राख्न खोजिएको खुलेको हो ।
शसस्त्रका हवल्दार अधिकारी लामो समयदेखि उपप्रधानमन्त्री खड्काको सवारी चलाउँदै आएका थिए । दुर्घटनामा सञ्जु सवार कार चालकका बारे भने खुलाइएको थिएन ।
पारिवारिक स्रोतका अनुसार चालक अधिकारी सशस्त्रका हवल्दार हुन् । सरकारी कर्मचारी कसरी प्राईभेट कार चलाएर हिँडे र बाँकेमा दुर्घटनामा परे भन्ने विषय गम्भीर रहेको उनीहरु बताउँछन् ।
मृतक हवल्दारका आफन्तका अनुसार अहिले घटना मिलाउने प्रयास भइरहेको छ भने विभिन्न आश्वासन आइरहेको छ ।
‘हामीले कल्पनै नगरेको विषय, सरकारी सेवा सशस्त्र गएको व्यक्ति । बाँकेमा प्राईभेट गाडी लिएर । त्यसमाथि पनि जिम्मेवारी नभएको व्यक्ति लिएर हिँडेको अवस्थामा मृत्यु भयो भनेको सुन्दा अचम्मित भएका छौँ।’ मृतक अधिकारीका एक आफन्तले भने ।
यता, सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले भने सुवास सशस्त्रको कर्मचारी भएको बताए । ‘उहाँ सशस्त्रको कर्मचारी हो, तर मंगलबार डिउटीमा हुँदै जानुभएको हो कि होइन त्यस बारे बुझिरहेका छौँ ।’ प्रवक्ता खड्काले भने ।
गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीका दुई छोरी र श्रीमती छन् ।
मंगलबार धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालक सुवास र सञ्जुको मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कोहलपुर बाँकेले जनाएको छ ।











प्रतिक्रिया