काठमाडौं, १२ जेठ । नेकपा एमालेद्धारा भूकम्प पीडितहरुको अस्थायी बसोबास मिलाउन संचालित राष्ट्रिय स्वयंसेवक परिचालन अभियान तिव्र गतिमा अगाडी बढेको छ ।
अभियानको दोस्रो दिन मंगलबार एमालेले विभिन्न जिल्लामा पीडितको टहरा निर्माणको काम गरेको छ । जेठ ११ गतेको राति आँधीबेहरी सहितको वर्षाले गर्दा स्वयंसेवकहरुका अस्थायी पाल च्यातिएर शिविरमा दुःख कष्टका बीच पनि स्वयंसेवकहरु उत्साह र सेवाभावका साथ सबैजना तोकिएको काममा जुटेर विभिन्न ठाउँमा अस्थायी बसोबास व्यवस्थापन कार्य अघि बढाउन अग्रसर रहेको एमालेले जनाएको छ ।
विशेषगरी रसुवा, सिन्धुपाल्चोक र नाङ्लेभारे, काठमाडौंमा स्वयंसवकहरुका अस्थायी शिविर क्षतिग्रस्त भएकाले नयाँ बन्दोवस्त मिलाएर पुनर्निर्माण अभियानलाई रफ्तारमा अगाडी बढाइएको अभियानका संयोजक एमाले युवा नेता गोकर्ण विष्टले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत दोस्रो दिन एमालेले प्रभावित जिल्लामा गरेको कार्य, एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जारी गरेको विज्ञप्ती जस्ताको तेस्तै :
प्रेस नोट
नेकपा (एमाले)द्धारा भूकम्प पीडितहरुको अस्थायी बसोवास मिलाउन संचालित राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको दोश्रो दिन आज देहायबमोजिम कार्यसम्पादन गरिएको छ :
जेठ ११ गते राती आँधीबेहरीसहितको वर्षाले गर्दा स्वयंसेवकहरुका अस्थायी पाल च्यातिएर शिविरमा असैह्य दुःख कष्ट झेल्नुपरेको भए पनि स्वयंसेवकहरु समर्पित उत्साह र सेवाभावका साथ सबैजना तोकिएको काममा जुटेर विभिन्न ठाउँमा अस्थायी बसाबास व्यवस्थापन कार्य अघि बढाउन अग्रसर रहेको अवस्था छ । खासगरी रसुवा, सिन्धुपाल्चोक र नाङ्लेभारे, काठमाडौंमा स्वयंसवकहरुका अस्थायी शिविर क्षतिग्रस्त भएकाले नयाँ बन्दोवस्त मिलाउनु परेको छ ।
गोरखाको लागि स्वयंसेवकहरु परिचालन गर्न आज पोखरामा बिदाई तथा सपथ–ग्रहण कार्यक्रम सम्पन्न भयो । पार्टी केन्द्रीय सचिवालयका सचिव कमरेड प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा भएको उक्त कार्यक्रममा स्वयंसेवकहरुलाई अत्यावश्यक प्रशिक्षणसमेत दिइएको थियो । कास्की जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोलिटव्यूरो सदस्यहरु गणेश तिमिल्सिना, तुलबहादुर गुरुङ, जगत विश्वकर्मा तथा केन्द्रीय सदस्यहरु चुडामणी जंगली, सीता गिरी ओली, मानबहादुर जीसी र गोविन्दबहादुर नेपालीलगायतका पार्टी नेताहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा विष्णु के.सी, नवराज ओझा, जीवन आचार्य, धनबहादुर नेपाली, टीकाराम पंगेनी र इन्द्रलाल सापकोटाको नेतृत्वमा ५०–५० जनाका छ वटा टोली निर्माण गरी गोरखाका तीन वटै निर्वाचन क्षेत्रका छानिएका छ गाविसमा जम्मा ३०० जना स्वयंसेवकहरु पठाइने भएको छ ।
लम्जुङ : क्षेत्र नं. १ मा गौडा गाविस र क्षेत्र नं. २ मा सुन्दर बजार नगरपालिकाका वडा नं. ११ र १२ (पुरानो परेवाडाँडा गाविस) मा पुनः निर्माण कार्य अघि बढाउने निर्णय भएको छ । पार्टी सचिव भीम आचार्यको अनुगमन तथा केन्द्रीय सदस्य मायानाथ अधिकारीको संयोजनमा लम्जुङमा स्वयंसेवकहरु परिचालित हुनेछन् ।
भक्तपुर : क्षेत्र नं. १ को महामञ्जुश्री नगरपालिका १० स्थित बागेश्वरीमा १० वटा टहरा निर्माण गरिएको छ । शिवहरि काफ्ले, निर्मला काफ्ले, प्रकाश काफ्ले, शंभुप्रसाद काफ्ले, भीमबहादुर गुरुङ, चन्द्रमाया गुरुङ, भक्तलाल श्रेष्ठ, दयाराम श्रेष्ठ र सानुभाई नायजुका घर भत्काइएको छ । विष्णुप्रसाद काफ्लेको घरबाट महत्वपूर्ण सामग्री र धनसम्पत्ति पुरिएकोमा भेटाएर सम्बन्धितलाई जिम्मा लगाइएको छ ।
क्षेत्र नं. २ स्थित बालकुमारी मन्दिर वरिपरि पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सरसफाई कार्यको अगुवाई गर्नुभयो । दुई ठाउँ बाटो सफाई र दुईवटा घर भत्काउने कामसमेत सम्पन्न भयो । पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीले आजै स्वयंसेवकहरुको शिविर निरीक्षण गर्नुभएको छ । उक्त टोलीले भक्तपुरकै सिरुटारमा ५ वटा घर भत्काएर सरसफाई गर्नुका साथै बाटो तथा मन्दिरको पनि सरसफाई गरेको छ ।
ललितपुर : क्षेत्र नं. १ मा मुक्ति समाजको स्वयंसेवक टोलीले गोदावरीमा घर भत्काउने र टहरा बनाउने कार्य गरेको छ भने युवा संघको टोलीले चापागाउँमै भग्नावशेष व्यवस्थापन र टहरा निर्माण गरिरहेको छ ।
क्षेत्र नं. ३ को बुङ्गमति नगरपालिका २ र ६ मा श्याम महर्जन, कालु महर्जन, बुलाल महर्जन, प्रकाश तुलाधर, पशुपति तुलाधर, राम तुलाधर र बेखा महर्जनका ७ वटा टहरा निर्माण गरिएको छ । पूर्व वडा अध्यक्ष रत्नमुनि बज्राचार्य, यज्ञरत्न शाक्य र रामकृष्ण तुलाधर लगायत ७ जनाका भत्किएका घरको भग्नावशेष व्यवस्थापन गरिएको छ । पार्टी उपमहासचिव विष्णु पौडेलले ११ गते उद्घाटन गरी काम शुभारम्भ गरिएको यस ठाउँमा आज बिहानै ७ बजे पार्टी पोलिटव्यूरो सदस्य रघुजी पन्तको नेतृत्वमा १०० जना स्वयंसेवकहरुको टोलीले दिउँसो १ बजेसम्म काम गरेको थियो ।
सिन्धुली : अखिल र युवा संघका २ वटा टोली निर्माण बनेका छन् । भद्रकाली गाविसस्थित पिपल भञ्ज्याङ मावि भवनको पुनः निर्माणमा शंकर लुङ्गेलीको टोली खटिएको छ । मावि भीरगाउँको पुनःनिर्माणको लागि दिपेश बरालको नेतृत्वमा अर्काे टोली खटिएको छ । कमलामाई नगरपालिकामा रमेश देवकोटाले नेतृत्व गरेको टोलीले कलावती माझी र ललिमाया विकका २ वटा टहरा निर्माण गरी हस्तान्तरण गरेको छ ।
नुवाकोट : क्षेत्र नं. १ को मदनपुर–२ स्थित शक्ति उच्च माविको भवन मर्मतसंभार, शौचालय निर्माण र छानो बनाउने काम गरिएको छ । त्यहाँको पहिरो सफा गर्ने, ढुंगा पन्छाउने, फर्निचरहरु बाहिर निकाल्ने र ढलेका रुख हटाउनेजस्ता काम पनिगरिएको छ । बेलकोट–५ स्थित पञ्चकन्या उच्च माविको भवनबाट ढुंगामाटो हटाउने, फर्निचर निकाल्ने तथा मावि र उच्च मावि दुबैका कक्षा सञ्चालन गर्न सहज बनाउन स्वयंसेवकहरुको टोली सक्रिय रहेको छ । यहाँ १२ वटा टहरा पनि निर्माण गरिएको छ ।

दोलखा : क्षेत्र नं. १ मा मैनापोखरी काभ्रेस्थित हनुमन्तेश्वर उच्च माविको भवन भत्केकाले स्वयंसेवकहरु चारवटा अस्थायी कोठा निर्माणमा जुटेका छन् । साथै, जिरी नगरपालिका, नाम्दु र मार्बुमा टोलीले स्कूलहरु पुनः निर्माण गर्ने गरी योजना बनाएको छ । क्षेत्र नं. २ मा निको भूमि मावि भवन र गाविस कार्यालयको पुनः निर्माण सकिएको छ ।
सिन्धुपाल्चोक : क्षेत्र नं. १ मा भेरी अञ्चलको टिमले कर्थलीस्थित सुनकोशी उच्च मावि भवनको भत्किएकोसंरचनालाई व्यवस्थित गरी नयाँ कक्षा कोठा निर्माण कार्य थालेको छ ।
क्षेत्र नं. २ मा राप्ती अञ्चलको टिमले २ दिनमा १० वटा घर–टहरा मर्मत गरेको छ भने १५ वटा नयाँ टहरा निर्माण गरेको छ । केन्द्रीय कमिटी सदस्य खेममान खड्काले उक्त टिमको संयोजन गर्नुभएको छ । यस टिमले नेपाली काँग्रेसका इकाई सभापति इच्छाराज दंगालको घर–टहरासमेत निर्माण गरेको छ । साथै, सबैजसो दलित, एकल महिला र बिपन्न परिवारका निम्ति घर–टहरा निर्माण गरिएको छ ।
क्षेत्र नं. ३ मा इन्द्रेश्वर उच्च मावि मेलम्चीमा सरसफाइ गरी स्वयंसेवक टोलीले काम अघि बढाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सभासद शेरबहादुर तामाङले उद्घाटन गर्नुभएपछि युवा संघको टोली यस उच्च माविको पुनः निर्माण तथा मर्मतसंभारमा जुटेको छ । यस्तै, अखिलको टोली तेर्से मावि तारामाराङ्गको पुनः निर्माणमा जुटेको छ । यी दुबै विद्यालयमा उच्च माविको परीक्षा केन्द्र परेकाले जेठ २० गते अगावै जाँच संचालनयोग्य बनाउने गरी टोलीहरु सक्रिय छन् ।
रामेछाप : क्षेत्र नं. १ मा मन्थली नगरपालिका ठूलीमदौस्थित कालिका निमावि भवन वरिपरि भत्किएको पर्खाल व्यवस्थापन गरिएको छ । राष्ट्रिय खेलकूद महासंघका स्वयंसेवकहरुले पुरिएर रहेका फर्निचर र कम्प्युटर बाहिर निकाली सुरक्षित गरेर विद्यालयको अस्थायी टहरा बनाउने काम सुरु गरेका छन् ।
क्षेत्र नं. २ मा भीमेश्वर रुद्र उच्च मावि चिसापानीको भत्किएको संरचना निर्माण गर्ने काममा कर्णालीबाट आएका स्वयंसेवकहरुको टोली क्रियाशील रहेको छ ।

धादिङ : क्षेत्र नं. १ मा रुपन्देहीबाट आएको टोलीले सल्यानटार स्थित उच्च माविको भत्किएको पर्खाल पन्छाउने काम गरेको छ । आरुघाटमा कपिलबस्तुबाट आएको टोलीले स्थानीयका जम्मा १२ घर बनाउन लिखित निवेदन प्राप्त गरेको छ, जसमध्ये कृष्णबहादुर श्रेष्ठको घर बनाउने काम पूरा गरेको छ । यस्तै, स्थानीय व्यक्तिहरुले सामूहिकरुपमा संचालन गरेको स्थानीय बोर्डिङ स्कूलको तेश्रो तल्ला भत्काएर कक्षा संचालनयोग्य बनाउन टोली क्रियाशील छ ।
क्षेत्र नं. २ मा निलकण्ठ नगरपालिका–८ मुरलीभञ्ज्याङस्थित विष्णुहरि सापकोटाको घरबाट सरसामान निकाली सुरक्षित गर्नुका साथै स्थानीय सामग्री प्रयोग गरेर उक्त घर निर्माण कार्य पूरा गरिएको छ । साथै, स्थानीय किब बोर्डिङ स्कूलको सरसफाई गरिएको छ भने जस्ताको उप्किएको छाना मिलाएर छाउने कामसमेत पूरा गरिएको छ ।
क्षेत्र नं. ३ मा थाँक्रे गाविस–३ रानीबारीमा ७ वटा र वडा नं. ८ सातघुम्तीमा ४ वटा गरी जम्मा ११ वटा अस्थायी घर निर्माण गरिएको छ । यस गाविसमा कोशी अंचलाबाट आएको स्वयंसेवक टोली कार्यरत रहेको छ ।
रसुवा : लुम्बिनी अंचलबाट आएको स्वयंसेवक टोलीले रसुवाको भोर्लेटार लामाचेपमा गोसाईकुण्ड मावि सस्र्यूको भत्किएको भवन सफा गरी नयाँ निर्माण कार्य थालेको छ, जो भोली पूरा हुनेछ । सेतीदेवी मावि धुसैनीको भवन भत्काउने काम सकिएको छ । वडा नं. ६ र ७ मा आवश्यक घर–टहरा बनाउन सर्भेक्षणको काम पूरा गरिएको छ ।
काठमाडौं : क्षेत्र नं. २ नाङ्गेभारेमा अर्जुन दंगालको घर भत्काएर पुरानै जस्ताआदि प्रयोग गरी नयाँ टहरा बनाउने काम अखिलको टिमले गरेको छ । यस्तै, वडा नं. ३ मा दुईवटा घर भत्काएर रुपनारायण श्रेष्ठको नेतृत्वमा टहरा बनाउन स्वयंसेवकहरुले काम अघि बढाएका छन् ।
क्षेत्र नं. ४ मा बुढानिलकण्ठ नगरपालिका १५, १६ र १७ मा भत्किएका ७ वटा घरको भग्नावशेष सफा गरिएको छ । टहरा बनाउन जमिन सम्याउने काम भए पनि सरकारले जस्ता किन्ने रकम अझै उपलब्ध नगराएकाले काम अघि बढेको छैन । पीडितहरुले अविलम्ब घोषित रकम निकासा हुनुपर्ने माग गरेका छन् ।

क्षेत्र नं. ५ मा बाँसबारीस्थित गंगालाल हृदय केन्द्र छेउमा मनोज बराल, रामकृष्ण महर्जन र कान्छा महर्जनका ३ वटा भत्किएका घरबाट भग्नावशेष मिलाउने काम भएको छ । यस्तै टोखा सरस्वतीको लाम्नेमा शंखनारायण श्रेष्ठको जीर्ण घर भत्काइएको छ ।
क्षेत्र नं. ७ मा बालाजु–१६ टौडलस्थित संजीव श्रेष्ठको भत्केको घरबाट माटो–इट्टा पन्छाएर जस्ताको छानाको टहरा बनाइएको छ । हरिबहदाुर बलामीको घरबाट भग्नावशेष पन्छाएर नयाँ बनाउने काम अघि बढेको छ । तारकेश्वर नपा–७ मा एकल महिला विद्या मानन्धरको कच्ची घरका सबै जस्तापाता र काठपात निकाली नजिकै नयाँ टहरा बनाउन सुरु गरेको छ । त्यहीं नजिकै बाटोमा धराप बनेर रहेको पुष्पलाल मानन्धरको कच्ची घरको भग्नावशेष पन्छाउने काम भएको छ । तारकेश्वर नपा–८ लामिछाने बस्तीमा भत्किएको घर पन्छाई काठबाँस र जस्ता प्रयोग गरेर नयाँ टहरा बनाइएको छ । बाइपासस्थित तरुण मावि सँगैको घरबाट भग्नावशेषहरु सफा गरिएको छ ।
क्षेत्र नं.–८ मा स्वयंसेवकहरुको एक टोलीले रेडक्रस पछाडि बाफलमा ३ तल्ले कच्ची घर भत्काई दुई तल्ला पन्छाएको छ । र, एक तल्लामा जस्ताले छाएर बस्नयोग्य बनाएको छ । अर्काे टोलीले विजय मार्ग बाफलमा भत्किएको संरचनाले बाटो अबरुद्ध रहेकोमा स्वयंसेवकहरुले सफा गरेका छन् । तेस्रो टोलीले नागर्जुन नगरपालिकामा दशनारायण महर्जनको घर निर्माण पूरा गरी हस्तान्तरण गरेको छ ।
क्षेत्र नं. ९ मा रामकोट, स्यूचाटार, कलंकी, सुनारगाउँ, नयाँ नैकाप, पुरानो नैकाप, कंकाली डाँडा, दहचोक र तीनथानामा ३०–३० जनाको टोली बनाई स्वयंसेवकहरु परिचालित छन् । आज कलंकीमा क्षमादेवी अधिकारीको घर डेढ तल्ला भत्काइएको छ । सहरी क्षेत्रमा प्रायः टहरा निर्माणभन्दा पनि धरापजस्तै बनेका घरहरु भत्काउनका निम्ति बढी आग्रह र सुझाव प्राप्त भएको छ ।
क्षेत्र नं. १० को चन्द्रागिरी–९ बालागाउँमा जिफन्टको स्वयंसेवक टोलीले रत्नमान बलामी, हाकु बलामी, आइते बलामी, सन्तकुमार बलामी, कृष्णकुमार बलामी, कान्छाभाइ बलामी, कान्छा बलामी, पार्वती बलामी र बुद्धकुमार श्रेष्ठका ९ वटा कच्ची घर भत्काउने काम गरेको छ । यस टोलीले हिजो ४ वटा घर भत्काउने काम गरेको थियो । यसैगरि दक्षिणकाली नपा–५ मा ३ वटा घर भत्काइएको छ भने ४ वटा टहरा बनाइएको छ । गुर्जाकोटमा ४ वटा घर भत्काइ सफा गरेर ४ वटा टहरा निर्माण गरिएको छ ।
यसैगरी साल्नाखेल ग्वालदहमा २ वटा टहरा निर्माण गरिएको छ,त्यसमध्ये एउटा एकल महिलालाई हस्तान्तरण गरिएको छ भने ४ वटा घर सफाइ गर्ने काम पूरा भएको छ ।
सूर्य थापा (उपप्रमुख)
केन्द्रीय प्रचार विभाग
















प्रतिक्रिया