३० कार्तिक २०८३, सोमबार

भारतको दाबीः कुनै बेला नेपालसहित दक्षिणपूर्व एसियाका देशहरु भारतको हिस्सा थियो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । भारतले सन् १९४६ को आजादीपछि पहिलो पटक आफ्नै लगानीमा नयाँ संसद भवन निर्माण गरेर उद्घाटन गरेको छ । केहिदिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवन भित्र बनाइएको एक विवादास्पद भित्ते चित्रले चर्चा पाएको छ ।

‘अखण्ड भारत’को नक्सा भित्ते चित्रले कुनै बेला नेपालसहित दक्षिणपूर्व एसियाका देशहरु भारतमा रहेको दाबी गरेको छ । अर्थात चित्रले कुनै बेला नेपालसहित तिब्बत, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया, श्रीलंका, म्यानमार, भुटान, पाकिस्तान, बंगलादेश, इरान, अफगानिस्तान भारतको हिस्सा रहेको भन्न खोजेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

विवादास्पद भित्ते चित्रले नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेको छ । संसद भित्रको यस चित्रको विषयमा हालसम्म भारत सरकारले कुनै पनि आधिकारिक धारणा सार्वजनिक नगरे पनि सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा)का नेताहरुले भने चित्रले भारत शक्तिशाली देश रहेको पुष्टि गर्न खोजेको दाबी गरेका छन् ।

यसैबीच, नेपालका पूर्वप्रधानमन्त्रीहरु नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालका भू-भागहरु समेत समावेश गरिएकोप्रति आपत्ति जनाएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका भू-भागहरुलाई समावेश गर्दै आफ्नो नक्सामा राखेर भारतले नेपालप्रति हेपाहा प्रवृति देखाएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा उक्त नक्सा हटाउन भन्नसक्नुपर्ने बताएका छन् ।

नेपालको भूमि आफ्नो नक्साभित्र हालेर भारतजस्तो नमूना लोकतन्त्र भनिएको देशले हेपाहा काम गरे त्यसलाई उचित भन्न नसकिने चेतावनी ओलीले दिएका छन् । ओलीले विश्वमै ठूला देशले साना देशलाई हेप्ने क्रमले निरन्तरता पाए पनि संयुक्त राष्ट्रसंघ निरीह रहेको समेत बताएका छन् ।

यसैगरी, नेकपा समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद भवनको अखण्ड भारत भित्ते चित्तले कूटनीतिक विवाद सिर्जना गरेको बताएका छन् ।

‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाललगायतका छिमेकमा अनावश्यक र हानिकारण कूटनीतिक विवाद निम्ताउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ ।’ सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन् ।