
काठमाडौं, १५ जेठ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी आज रिहाइ हुने भएका छन् ।
घटनामा दोषी ठहर भइ जेल सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरी आज रिहाइ हुने भएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी दिएसँगै चौधरी रिहाइ हुन लागेका हुन् ।
हिजो आइतबार नै मन्त्रिपरिषद्को बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले गणतन्त्र दिवसको उपलक्ष्यमा माफी दिइएको जनाएको छ ।
पछिल्लो ६ वर्ष देखि डिल्लीबजार कारागारमा रहेका चौधरी आज बिहान १० जेलमुक्त हुन लागेका हुन् । उनी रिहा हुने भएसँगै उनको स्वागतमा नागरिक उन्मुक्ति पार्टी नेता तथा कार्यकर्ता कारागारमा पुग्दैछन् ।
टीकापुर घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
यसैगरी, चौधरीलाई जन्मकैदको फैसला गर्ने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको थियो । गत जेठ २ गते मंगलबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाई दिन अस्वीकार गरेको थियो ।
टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी र एक बालकको सामूहिक निर्मम हत्या भएको थियो ।











प्रतिक्रिया