३० कार्तिक २०८३, सोमबार

प्रेस चौतारी धनकुटाद्वारा रुचाललाई सम्मान, सुवेदीलाई पुरस्कार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १४ जेठ । प्रेस चौतारी धनकुटाले अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । शनिबार वार्षिक साधारण सभाको अवसर पारेर अग्रज पत्रकार सन्तोष रुचाललाई सम्मान र क्रियाशील पत्रकार सन्तोष सुवेदीलाई पुरस्कृत गरिएको हो ।

संगठनमा सक्रिय रहँदै पत्रकारिता क्षेत्रको विकासमा योगदान पुर्‍याएबापत रुचाललाई सम्मान र संगठनमा रहेर सक्रिय पत्रकारिता गर्दै पेशागत र सांगठनिक हितमा योगदान गरेबापत पत्रकार सुवेदीलाई पुरस्कृत गरिएको प्रेस चौतारीका धनकुटा अध्यक्ष रविन कटेलले जानकारी दिए । सम्मानित रुचाल २२ वर्ष अघिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । रेडियो मकालु र नयाँ पत्रिका दैनिकमा कार्यरत रुचाल प्रेस चौतारीका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्षसमेत हुन् ।

यता, पत्रकार सुवेदीलाई नगद ७ हजार १ सय ११ नगदसहित ‘धनकुटा क्रियाशील पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत गरिएको हो । संगालोखबर अनलाइनमा कार्यरत सुवेदी विगत चार वर्षदेखि पत्रकारिता पेशामा सक्रिय छन् ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, प्रदेश इन्चार्ज विक्रम लुँइटेल, सह–इन्चार्ज देवेन्द्र कार्की, केन्द्रीय सदस्य सन्तोष काफ्ले, प्रदेश अध्यक्ष अविजाल विष्ट, जिल्ला अध्यक्ष कटेल लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी रुचाललाई सम्मान र सुवेदीलाई पुरस्कृत गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारीका केन्द्रीय अध्यक्ष बस्नेतले पत्रकारको हकहित र पत्रकारिताको विकासका लागि प्रेस चौतारी सधैँ अग्रपङ्तिमा रहने बताए । उनले पत्रकार महासंघले जारी गरेको पत्रकार सदस्यता शुद्धीकरण मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने गरी अघि बढ्न चौतारी धनकुटा शाखालाई निर्देशन पनि दिए ।

प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष पाण्डेले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन महासंघभित्र सदस्यता शुद्धीकरणको खाँचो रहेको औँल्याए । कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका प्रदेश इन्चार्ज लुँइटेल, सह–इन्चार्ज कार्की, केन्द्रीय सदस्यद्वय काफ्ले र रुचाल, प्रदेश अध्यक्ष विष्ट, पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, जिल्ला अध्यक्ष नगेन्द्र राई, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, राष्ट्रिय युवा संघका अध्यक्ष प्रविण पोख्रेल लगायतले साधारण सभा सफलताको शुभकामना दिएका थिए ।

यसैबीच, प्रेस चौतारी धनकुटाका सचिव भीम मल्लले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक र कोषाध्यक्ष रविन्द्र रणपहेलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ । साधारण सभाले पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड कडाइका साथ कार्यान्वयनमा जुट्ने निर्णय पनि गरेको जिल्ला उपाध्यक्ष विश्वराज श्रेष्ठले जानकारी दिए ।