१६ कार्तिक २०८३, सोमबार

अब नडराउनुस्, भूकम्पले केही गर्दैन् : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koiralaकाठमाडौँ, १२ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले धैर्य गरेर भूकम्पबाट सिर्जित महाविपत्तिको सामना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

‘युएस खबर डटकम’द्वारा संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमार्फत भूकम्पबाट प्रभावित जनताको राहतका लागि सङ्कलित दुई लाख ८० हजारबराबरको चेक आज बुझ्दै प्रधानमन्त्री कोइरालाले सबै भएर सामना गरे छिट्टै समस्या समाधान हुने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अब नडराउनुस्, भूकम्पले केही गर्दैन्, अब आउन पनि छोड्छ । प्रधानमन्त्री कोइरालाले भूकम्पपीडितको उद्धार तथा राहतका लागि खडा गरिएको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सङ्कलित रकम पारदर्शी रुपमा उपयोग भइरहेकोे बताउँदै त्यसमा अनियमितता गर्नेलाई कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भूकम्पबाट प्रभावित क्षेत्रमा राहत सहयोग सामग्री वितरण नदोहोरियोस् भन्नाका लागि सरकारले उद्धार तथा राहत कार्यमा एकद्वार प्रणाली अपनाएको जानकारी गराउँदै त्यसमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । सो रकम नेपाल प्रेस युनियनको संयोजनमा हस्तान्तरण गरिएको हो ।

आजै उद्धार कोषमा नेपाल विद्युत् प्राधिकरणको रु दुई करोड ५० लाख, प्राधिकरण कर्मचारीको रु पाँच लाख, चिलिमे जलविद्युत् परियोजनाको रु दुई करोड र माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको रु ५० लाख बराबरको चेक ऊर्जामन्त्री राधा ज्ञवालीले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।

त्यस्तै एनसेलले रु १० करोड, डाबर नेपालले रु एक करोड, एसियन पेन्ट्सले रु ११ लाख ११ हजार १११, एसियन पेन्ट्सका कर्मचारीले रु सात लाख ११ हजार १११, आनन्द सङ्घ पुलाहरी गुम्बाले रु ३० लाख, करुणा फाउन्डेसनले रु पाँच लाख र सापकोटा समाज इटहरीले रु एक लाख बराबरको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् । रासस