
पाँचथर, २९ वैशाख । जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ ।
बिहीबार अपराह्न ३:३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो ।
आगलागीमा परी हिँड्डुल गर्न नसक्ने नेम्बाङका छोरा ३२ वर्षीय मनकुमार नेम्बाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खरको छानो भएको घरमा जङ्गलमा लागेको आगोको झिल्काले भेटेपछि आगलागी भएको थियो । घरमा मृतक मनकुमार मात्रै रहेको अवस्थामा आगलागी हुँदा निजको मृत्यु हुनुका साथै दुई तले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
बिहीबारदेखि नै जिल्लाको फिदिम नगरपालिका–९ को लम्जक सामुदायिक वन, फिदिम–८ को भष्मे जङ्गल र मिक्लाजुङ गाउँपालिका–८ को देउराली सामुदायिक वनमा आगलागी भइरहेको छ ।













प्रतिक्रिया