काठमाडौँ, ११ जेठ । चीन सरकारले नेपाली सेनालाई अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न दुई घुम्ती अस्पताल उपलब्ध गराएको छ ।
छाउनिस्थित सैनिक अस्पताल परिसरमा आज आयोजित समारोहमा नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले प्रधानसेनापति गौरवशम्शेर राणालाई उक्त अस्पताल हस्तान्तरण गर्नुभएको हो ।
दुई वर्षअघि प्रधानसेनापतिको चीन भ्रमणका बेला चीनले नेपाली सेनालाई उक्त अस्पताल प्रदान गर्ने सहमतिअनुरुप प्रदान गरिएको हो ।
विपद्का बेला आपत्कालीन उपचार गर्न घुम्ती अस्पताललाई तुरुन्तै एक ठाउँबाट अर्को ठाउँ लैजान सकिनेछ ।
घुम्ती अस्पतालमा भेन्टिलेटर, विशिष्ठ सघन उपचार कक्ष, शल्यक्रिया उपकरण, अल्ट्रासाउन्ड, एक्स–रे, प्रयोगशाला तथा इसिजीजस्ता उपकरण र औजार जडित २४ सवारीसाधन समेत प्राप्त भएका छन् । उक्त अस्पतालको मूल्य चिनियाँ यान ५.९ मिलियन रहेको बुझिइएको छ ।
हस्तान्तरण समारोहमा प्रधानसेनापति राणाले विपद्मा परेका जनताको उद्धार, राहत तथा पुर्नस्थापना तथा पहिरोबाट क्षतिग्रस्त सडक खुलाउन चिनियाँ सेनाले खेलेको भूमिकाको सराहना गर्दै नेपाल र नेपाली जनताको हितमा असल छिमेकीको रुपमा गर्दै आएको विभिन्न खाले सहयोगबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने छ भन्नुभयो ।
राजदूत चुन्ताईले भूकम्पमा परी मृत्यु भएका तथा घाइते जनताप्रति चीन सरकारको तर्फबाट दुःख व्यक्त गर्दै घाइते नेपाली नागरिकलाई उपचारमा सहयोग पु¥याउन खटिएको चिनियाँ टोलीले प्रभावकारी रुपमा कार्यसम्पादन गरेको बताउनुभयो । रासस















प्रतिक्रिया