काठमाडौं, ११ जेठ । विनाशकारी भूकम्प आएको बेला पीडितहरु घर बाहिर निस्के । त्यही मौकामा चोरहरु भित्र पसे । मौकाको फाइदा उठाउँदै नगद तथा जिन्सी सामानहरु उठाएर लगे ।
त्यसरी समान उठाउने अहिले फन्दामा परेका छन् । काठमाडौं उपत्यकाको वौद्ध, कपन, वालाजु, नयाँवसपार्क क्षेत्रमा चोरीमा संलग्न ५ जनालाई महानगरीय अपराध महाशाखा काठमाडौंले दशीका सामानसहित वौद्ध तथा नयाँवसपार्कवाट आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने दोलखा कालिन्चोक–५ का १८ वर्षीय सुवाष वुढाथोकी, काठमाडौं कपन बस्ने उदयपुर रौता–९ मुर्कुचीका २० वर्षीय नविन भन्ने लालवहादुर तामाङ्ग, काठमाडौं गोंगबु बस्ने मोरङ लेटाङ–७ का भाइरस भन्ने आकाश लिम्वु, काठमाडौं गणेशस्थान बस्ने सुनसरी धरान नगरपालिका–१९ सरस्वतीटोलका २२ वर्षीय धराने भन्ने इन्द्र तामाङ्ग र काठमाडौं नयाँबसपार्क बस्ने सुनसरी देवीघाट–४ वाङ्गेका १८ वर्षीय अर्जुन तामाङ्ग रहेका छन् ।
उनीहरुबाट १ थान डेल कम्पनीको ल्यापटप र १ थान आइफोन बरामद भएको छ । प्रारम्भीक सोधपुछको क्रममा उनीहरु नयाँवसपार्क ईलाकाको विभिन्न गेष्ट हाउसहरुमा काम गर्ने र मौका मिलाई चोरी गर्ने भन्ने खुल्न आएको छ ।
उनीहरुलाई महाशाखाले आवश्यक कारवाहीको लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।















प्रतिक्रिया