
काठमाडौं, २६ वैशाख । मुलुकमा देखिएको पछिल्लो आर्थिक समस्याका कारण अब राज्यले सामाजिक सुरक्षालगायत विभिन्न सेवा र सुविधाहरू कटौती गर्ने चर्चा व्यापक बनिरहेको छ ।
यसैबीच आज अर्थमन्त्री प्रकाशशरण महतले यस विषयमा सरकारको यथार्थ धारणा सार्वजनिक गरेको छ ।
राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको आज मंगलबार जवाफ दिँदै अर्थमन्त्री महतले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने प्रष्ट पारेका छन् ।
उनले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने पनि बताएका छन् । ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन,’ उनले भने ।
मन्त्री डा. महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताए । यस्तै, उनले अर्थतन्त्र चलायमान बनाउने अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने अठोट पनि उनले व्यक्त गरेका छन् ।
अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने र नेपाल राष्ट्र बैंक्ले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने डा. महतको भनाइ छ ।













प्रतिक्रिया