२९ आश्विन २०८३, बिहिबार

रुदीखोलाको पुल उद्घाटन गर्दै पृथ्वीसुब्बा गुरुङले भने– ५० वर्षमा जनताको भाग्य फर्काएको छु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १९ वैशाख । नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रुदी खोलाको पुल उद्घाटन गरेका छन् ।

कास्कीको ‘कर्णाली’ भनेर चिनिने मादी गाउँपालिका–८, तुमरु र लमजुङको कव्होलासोथार गाउँपालिका–५, सिङ्दीको सिमलतुँ जोड्न रुदीखोलामाथि निर्माण गरिएको पुल प्रतिनिधि सभा सदस्य समेत रहेका गुरुङले आइतबार उद्घाटन गरेका हुन् ।

पुल उद्घाटन गर्दै उनले पञ्चायतका अर्थमन्त्री भेषबहादुर थापाले बिगारेको जनताको भाग्यलाई ५० वर्षपछि आफूले सपारेको बताएका छन् । ‘बुढापाकाहरूले १२ वर्षमा खोला फर्किन्छ भन्थे । मैले ५० वर्षमा जनताको भाग्य फर्काएको छु,’ उपमहासचिव गुरुङले भने, ‘२०२५ सालतिर पृथ्वी राजमार्गको रेखाङ्कन हुँदा दमौलीबाट मादी नदीको तिरैतिर कास्कीको भैँसे हुँदै काहुँखोला निस्कने थियो । पञ्चायतका अर्थमन्त्री भेषबहादुर थापाले आफ्नो गाउँ थर्पु हुँदै बाटो लगे । तर मैले त्यसलाई करेक्सन गरेर जनताको हितमा फर्काएको छु ।’

आफू मुख्यमन्त्री हुँदासम्म मध्यपहाडीको रेखाङ्कन हुँदै गरेको र पहिला पृथ्वी राजमार्ग नै भनेर अनेक खेल भएको चर्चा गर्दै उनले पुर्खा हिँडेको बाटो काडमाडौंबाट भैँसेसम्मको सडक रेखाङ्कन गर्न आफू सफल भएको बताए । ‘अनेक खेल भए पनि पहिला पुर्खा हिँडेको बाटो काठमाडौंबाट त्रिशूली, धादिङ, गोरखाको आरुघाट, लमजुङको सुन्दरबजार, भोर्लेटार करापुटार निकालेर मादीको तिरतिरै लगेर भैँसे निस्कने गरी रेखाङ्कन गर्न सफल भएका छौँ,’ उनले भने ।

योसँगै कास्कीको मादी गाउँपालिका सबै वडा समेत मध्यपहाडी राजमार्गले छोएको उनको भनाइ छ । यस्तै, लमजुङको राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकालाई पनि राजमार्गले छोएको छ ।

पुल र सडकले जनताको भाग्य लिएर आउने उनले बताए ।