
काठमाडौं, १९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताएकी छिन् ।
छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री शर्माले साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताएकी हुन् ।
उनले राष्ट्रिय साइबर सुरक्षाको नीति तर्जुमा कार्य अन्तिम अवस्थामा पुगेको जानकारी दिदै सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावलीलगायत कानुनी व्यवस्थाका लागि सरकार गम्भीर रुपमा अघि बढिरहेको बताइन् ।
सरकारी निकायका आन्तरिक प्रणालीहरु एकीकृत प्रणाली बिकास गरि कार्यन्वयन भइसकेको उनको भनाइ छ । उनले सूचना प्रविधिको प्रयोग एवम् सुरक्षित प्रयोग सम्बन्धमा नागरिकलाई साक्षर बनाउन डिजिटल साक्षरता एवम् जनचेतना अभिवृद्धिका कार्यक्रम मुलुकभर सञ्चालन गरिएको बताइन् ।
उनले सार्वजनिक सेवा प्रणालीलाई सरकारले प्राथमिकतामा राखेको भन्दै राहदानी, राष्ट्रिय परिचयपत्र, स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजागरीमा रहेका नेपालीलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच, परामर्शलगायत सेवा सुरू गरेको जानकारी दिइन् ।















प्रतिक्रिया